जनकपुरधाम : मधेश प्रदेशको सत्ता समीकरण बुधबार रातारात फेरिएको छ । जनमत पार्टीभित्रको विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनले ६ दलको समर्थनसहित ५७ सांसदको हस्ताक्षर पेश गरी दाबी गरेका थिए ।
यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत १३ जना जनमत सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीका लागि दाबी गरेका थिए । तर जनमत पार्टीले त्यसलाई अस्वीकार गर्दै आफ्नो आधिकारिक समर्थन सोनललाई दिएको जनाउँदै यादवको दाबी खारेज भएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री नियुक्तिलाई लिएर प्रदेश प्रमुख कार्यालयमा केहीबेर तनाबसमेत उत्पन्न भएको थियो ।
राजनीतिक समीकरण बदलिँदै गर्दा जनमतभित्र ठूलो उथलपुथल देखिएको छ । निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ले जनमत पार्टी परित्याग गरी जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन् । निर्वाचन आयोगको कार्यालयमा उनीहरू सनाखतका लागि पुगेका बेला जनमत कार्यकर्ताले रोक्ने प्रयास गर्दा सामान्य झडपसमेत भएको थियो ।
जनमतको विभाजनपछि कांग्रेस–एमाले गठबन्धनको नेतृत्वमा सरकार बन्ने प्रयास विफल भएको छ ।
प्रतिक्रिया