बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किंदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायका अनुसार सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा पर्दा ८ जनाको ज्यान गएको छ ।
मृतकमध्ये ६ जनाको घटनास्थलमै तथा अन्य २ जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य चौकीमा मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार तथा उपचारको काम जारी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार उक्त बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा बस सडकबाट करिब २०० मिटर तल खसेको जनाइएको छ ।
प्रतिक्रिया