गुलरिया (बर्दिया) : बर्दियामा चितुवाको आक्रमणबाट आज एकै दिन दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका–९ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४ निवासी ३५ वर्षीय नन्दु रोकाय रहेका छन्।
डाँगी सीमा नजिक बारीमा घाँस काट्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो। उनको शव दशगजा नजिक फेला परेको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी, रोकाय बबई नदी तरेर सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणमा परेका थिए। उनिसँग चार जना साथी पनि वनमा पुगेका थिए। रोकाय १२ दिनअघि मात्र भारतबाट घर फर्किएको बताइएको छ।
माघ महिनामा मात्र बारबर्दिया नगरपालिका–११ क्षेत्रमा चितुवाको आक्रमणबाट योसँगै तीन जनाको मृत्यु भइसकेको छ। बर्दियामा पछिल्लो समय चितुवा, पाटेबाघ र जंगली हात्तीको आक्रमणका घटना बढ्दै गएका छन्।
डिभिजन वन कार्यालयका अनुसार, साउनयता चितुवाको आक्रमणबाट सात, पाटेबाघको आक्रमणबाट एक र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
प्रतिक्रिया