काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक आईसीसी टी–२० विश्वकपका लागि छनोट भएको छ ।
ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी (एशिया–प्यासिफिक) छनोट प्रतियोगितामा शीर्ष तीनमा पर्न सफल भएपछि नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि लामो १० वर्षपछि सन् २०२४ मा पुनः विश्वकपमा सहभागिता जनायो । यतिबेला भने नेपाली टोलीले तेस्रो सहभागिताका लागि धेरै कुर्नु परेको छैन ।
समूह चरणमा दुई खेल जित्दै सुपर–सिक्समा पुगेको नेपालसँग २ बोनस अंक थियो । यस्तै घरेलु टोली ओमान र युएई पनि अपराजित रहँदै २–२ अंकसहित सुपर–सिक्समा पुगेका थिए ।
सुपर–सिक्स चरणमा नेपालले सुरुवाती दुई खेलमा युएई र कतारलाई हराएपछि बलियो स्थिति बनाएको थियो । तेस्रो खेलमा ओमानसँग खेल्नु अघि नै अनुकूल नतिजा आउँदा नेपालले दुई खेल अगावै विश्वकप टिकट पक्का गर्न सफल भयो ।
बुधबार कतारले जापानलाई र युएईले समाओलाई हराएपछि नेपाल र ओमान दुवै टोलीले तीन खेलबाट ६–६ अंक जोड्दै विश्वकपमा स्थान सुरक्षित गरेका हुन् ।
हाल नेट रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । युएई र जापानमध्ये अब केवल एक टोलीको मात्रै ६ अंक पुग्नसक्ने भएकाले नेपालको विश्वकप यात्रा सुनिश्चित भएको हो ।
प्रतिक्रिया