पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेपछि उनले रकम बुझाउन अस्वीकार गरेका छन् ।
आज विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अधिकारीसँग पाँच लाख धरौटी तोकेको थियो । तर अधिकारीले आफूलाई थुनामै बस्नुपर्ने भएकाले धरौटी नबुझाउने निर्णय गरेपछि उनलाई पुनः थुनामै राखिने भएको छ ।
यता, क्यानका पूर्व निर्देशक मुरारी भण्डारी भने एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अधिकारी भक्तपुरस्थित हेलीपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पहिले नै पुर्पक्ष थुनामा छन् ।
पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र पूर्व निर्देशक भण्डारीसहित ५५ जना व्यक्ति तथा एक चिनियाँ कम्पनीसमेत गरी ५६ प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया