महोत्तरी : पूर्व–पश्चिम राजमार्ग विस्तारको तयारीसँगै महोत्तरीमा ६ हजार २७ रुख कटान गरिने भएको छ।
लामो समयदेखि अलमलिएको अनुमति प्रक्रिया पूरा भएसँगै डिभिजन वन कार्यालय, वन तथा भूसंरक्षण विभाग र वन मन्त्रालयमार्फत रुख कटानको आदेश प्राप्त भएको हो।
कमला–ढल्केवर–पथलैया सडक पूर्वी खण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विस्तारअन्तर्गत महोत्तरी, धनुषा र सर्लाही गरी तीन जिल्लामा जम्मा ११ हजार ५७७ रुख हटाउने अनुमति मिलेको छ।
यसमा सर्लाहीमा ३ हजार ६७४, धनुषामा १ हजार ८७६ तथा महोत्तरीमा ६ हजार २७ रुख कटान गर्ने जनाइएको छ।
सडक विस्तारसँगै सहरी तथा बजार क्षेत्रका सडक ६ लेन र अन्य क्षेत्रमा ४ लेन बनाइनेछ। सहरी क्षेत्रमा ३१ मिटर तथा अन्य क्षेत्रमा १८ मिटर चौडाइ कायम गरिने प्रमुख दासले बताए।
आयोजनाका अनुसार सबैभन्दा बढी सालका रुख हटाइनेछन्। त्यस्तै, विस्तारका क्रममा बिजुलीका पोल सार्ने तथा खानेपानी पाइप समायोजन गर्ने काम पनि चुनौतीपूर्ण बनेको छ।
धनुषा र सर्लाहीमा रुख हटाउने कार्य सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै सुरु हुने प्रमुख दासले जानकारी दिए।
प्रतिक्रिया