विराटनगर । भारतको जोगवनी पुगेर फर्कदै गर्दा सिन्धुपाल्चोक घर भएका एक जना युवालाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको हो ।
लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित सिन्धुपाल्चोकको हेरम्बु गाउँपालिका–६ घर भएका ३४ वर्षीय दावा लामा होल्मो पक्राउ परेका हुन् । प्रहरीले मंगलबार दिउँसो ३ बजेतिर उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतको जोगवनीबाट पैदल नै नेपाल आउँदै गर्दा शंका लागेपछि लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले दावालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका दावाको साथबाट ५८.१४ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषध खरिद गर्नकै लागि विराटनगर आएर भारतको जोगवनी पुगेको पत्ता लागेको छ । जोगवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरेर फर्कदै गर्दा उनी नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका हुन् ।
लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएका दावालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले दावामाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया