विराटनगर : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीभित्रका कमजोरीहरूलाई खुला रूपमा स्वीकार गर्दै कांग्रेस अब नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने बताएका छन् ।
कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थापाले विगतका कमजोरी सच्याउँदै पार्टीलाई सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए । विशेष महाधिवेशनपछि पहिलो पटक विराटनगर आएका थापालाई स्वागत गर्न कांग्रेस नेता डा. शेखर कोइरालासहितका नेताहरू उपस्थित थिए ।
कार्यक्रममा बोल्दै थापाले भने, ‘ऐना पुछेर होइन, अनुहारमै देखिएका दाग मेटेर मात्रै नेपाली कांग्रेसको शुद्धीकरण सम्भव हुन्छ ।’
उनले विगतमा निर्वाचन जित्नु र सरकारमा टिकिरहनुलाई नै सबैभन्दा ठूलो उपलब्धि ठान्ने प्रवृत्ति कांग्रेसको कमजोरी भएको स्वीकार गरे ।
थापाले सत्ता प्राप्तिका लागि जोसँग पनि सम्झौता गर्ने र जे पनि गर्ने संस्कारले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता आदर्श नेताहरूले बनाएको कांग्रेसको छविमा धक्का पुगेको बताए । अब त्यस्तो गल्ती दोहोरिन नदिने उनले स्पष्ट पारे ।
कम्युनिस्ट दलहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिक पहिचान क्रमशः गुमाउँदै गएको उनको भनाइ थियो । अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोज्ने प्रवृत्तिमा कांग्रेस पनि कहीं न कहीं जिम्मेवार रहेको स्वीकार गर्दै उनले यसले संस्थागत गरिमामा आँच पुर्याएको बताए ।
प्रतिक्रिया