रास्वपाका उम्मेद्वार विरुद्ध भ्रामक सूचना फैलाएको आरोपमा एमाले नेता विप्लव घोष पक्राउ

सोमबार, २६ माघ २०८२

सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेसँग आबद्ध युवा नेता विप्लव घोषलाई भ्रामक सूचना फैलाएको आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार  घोषले सामाजिक सञ्जालमा गलत भिडियो सामग्री पोस्ट गरी निर्वाचन क्षेत्र नम्बर ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार दीपक साहलाई लक्षित गर्दै भ्रम फैलाउने प्रयास गरेका थिए। यस प्रकारको गतिविधिले चुनावी वातावरणमा खलल पुर्‍याउने भएकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले जानकारी दिएका छन।

पक्राउ परेका घोष नेकपा (एमाले)सँग आबद्ध खेलकुद महासंघका केन्द्रीय सचिव तथा इनरुवा नगरपालिका–३ बस्दै आएका स्थानीय हुन् । 

सुनसरी प्रहरीले सामाजिक सञ्जाल र पेजहरूमा विशेष निगरानी राखिरहेको र गलत सूचना वा भ्रामक खबर प्रसारण नगर्न अनुरोध गरेको छ।

सुनसरी रास्वपाले हिजो कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको थियो। पक्राउ परेका घोषलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यो पनि - गलत भिडियो पोस्ट गरेको आरोपमा कानुनी कारबाहीको माग गर्दै रास्वपा सुनसरी

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार