झापा । भ्रष्टाचार विरुद्ध र सुशासन प्रवद्र्धनका लागि कलम चलाउँदै आएका झापाका तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
हेम– सरिता फाउण्डेशन र नेपाल पत्रकार महासंघ झापाको सहकार्यमा स्थापित टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८१ बाट हाम्रा सहकर्मी प्रदेश खबरका झापा समाचारदाता सुरेन्द्र भण्डारी र जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दु पुर्वेली गौतमलाई प्रदान गरिएको हो । त्यसैगरी टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८२ बाट नयाँ पत्रिका दैनिकका झापा समाचारदाता चिरन्जीवी घिमीरेलाई प्रदान गरियो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यमा बिर्तामोडमा ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको सो पुरस्कार एक औपचारिक कार्यक्रमको आयोजना गरि वितरण गरियो । पुरस्कृत भण्डारी र गौतम झापाको बिर्तामोडलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका छन् भने घिमिरे दमकलाई कर्मथलो बनाएर पत्रकारितामा सक्रिय छन् ।
सोही कार्यक्रमकै अवसरमा महासंघले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सामाचार लेखनका लागि पत्रकार जोस्ना श्रेष्ठ र रञ्जीता खड्कालाई जनही पाँच,पाँच हजार रुपैयाँको लेखनवृत्ति समेत प्रदान गरेको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा. आचार्य, मुख्य अधिकृत झविन्द्र भुषाल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्यल र पुरस्कृत प्रतिभा घिमिरेले मन्तव्य राखेका थिए ।
वक्ताहरुले पत्रकारिता मार्फत भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा निरन्तर कलम चलाउँन पत्रकारहरुलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया