धनकुटामा माओवादीको चुनावी प्रतिबद्धता सार्वजनिक

आइतबार, २५ माघ २०८२

धनकुटा :  प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धनकुटाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले स्थानीय मुद्दा, उत्पादनमुखी अर्थतन्त्र र जनमुखी विकासलाई केन्द्रमा राख्दै प्रतिबद्धताहरू सार्वजनिक गरेको हो ।

माओवादीले किसानमुखी उत्पादन प्रणालीको विकास, आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण तथा युवालाई उत्पादन र रोजगारीमा जोड्ने अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरण अन्त्य गर्दै सर्वसुलभ सेवा सुनिश्चित गर्ने, भ्रष्टाचार र दलाल पूँजीवादी विकास मोडेलको अन्त्य गर्ने तथा यातायात र सडक सञ्जालको पहुँच विस्तार गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।

त्यस्तै वैज्ञानिक कृषि प्रणालीमार्फत उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने, माटो–पानी–जलवायु अनुकूल कृषि योजना लागू गर्ने, बीउमा आत्मनिर्भरता र जात सुधार कार्यक्रम सञ्चालन गर्ने एजेन्डा पनि प्रतिबद्धतापत्रमा समेटिएको छ । किसानका लागि वैज्ञानिक सिँचाइ, जैविक मल व्यवस्थापन, रोग–कीरा नियन्त्रण, कृषि यान्त्रिकीकरण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । साथै सहकारी र सामूहिक उत्पादन प्रणालीलाई प्राथमिकतामा राखिने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेकपा (माओवादी)का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रबिन कुमार राईले सहिद, बेपत्ता, घाइते तथा अपांग परिवारलाई न्याय र सम्मान दिलाउने, सामाजिक सुरक्षा प्रणाली मजबुत बनाउने र स्थानीय विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी एमसीसीको विरोध, सप्तकोशी उच्च बाँध निर्माण परियोजना खारेजका लागि संघर्ष, बैंक–सहकारी–मिटरब्याज तथा लघुवित्त पीडित समस्याको समाधानका लागि पहल गर्ने एजेन्डा पनि अघि सारिएको छ । धनकुटामा गाँजा खेतीलाई वैधानिक बनाउँदै पकेटजोन निर्माणका लागि आवाज उठाइने माओवादीको प्रतिबद्धतामा उल्लेख छ ।

जनताको प्रत्यक्ष सहभागितामा आधारित विकास, स्वाधीनता, आत्मनिर्भरता र समानतामूलक समाज निर्माणका लागि आफूहरू चुनावी मैदानमा उत्रिएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार