नेपालमा दन्त स्वास्थ्य चेतना विस्तार भए पनि ग्रामीण क्षेत्र जोखिममा छ : डा. हर्ष कुमार तिवारी

मंगलबार, २३ मंसिर २०८२

काठमाडौं। वरिष्ठ दन्त विशेषज्ञ तथा अर्थोडोन्टिस्ट डा. हर्ष कुमार तिवारीले नेपालका ग्रामीण तथा शहरी क्षेत्रमा दन्त स्वास्थ्यबारे चेतना बढ्दै गएको बताएका छन्।

उनले देशका विभिन्न जिल्लाहरुमा पुग्दा चेतना बढ्दै गएको बताएका छन्। रामेछाप, उमाकुण्ड, गोकुलगंगा, धादिङ, चितवन, लमजुङ लगायतका स्थानमा–डेन्टल क्याम्प सञ्चालन गर्दा स्थानीय बासिन्दामा दन्त समस्या धेरै देखिएपनि त्यसलाई समाधान गर्ने योग्य जनशक्ति ठ्याक्कै त्यहाँसम्म नपुगेको अवस्था अझै रहेको बताए।

डा. तिवारीका अनुसार अहिले पहिलाभन्दा जनस्तरमा दन्त स्वास्थ्यप्रति जागरूकता उल्लेख्य रूपमा बढेको छ। गाउँ–गाउँमा दन्त चिकित्सक कहाँ भेटिन्छ, कसरी उपचार लिनुपर्छ भन्नेबारे जानकारी पुग्दै गएको छ। तथापि, केही समूह अझैपनि आधारभूत दन्त हाइजिन र उपचारप्रति अपर्याप्त जानकारीका कारण समस्याग्रस्त बन्ने गरेको उनले बताए।

शिशुबाटै दन्त हाइजिन सुरु गर्नुपर्ने आवश्यकता

डा. तिवारीले शिशुले दूध चुस्ने समयदेखि नै गिजाको सरसफाइ आवश्यक हुनेमा जोड दिए। ‘आमाले नरम कपडा पानीमा भिजाएर दूध पिलाएपछि गिजा पुछिदिनुपर्छ। यसले भविष्यमा दाँतमा कीरा लाग्ने सम्भावना घटाउँछ,’ उनले भने। दुई–तीन वर्षको उमेरदेखि बालबालिकालाई मटरको दाना बराबरको पेस्ट प्रयोग गरेर ब्रसिङ सिकाउनुपर्ने सुझाव पनि उनले दिए।

बाङ्गो–टिङ्गो दाँत र प्रारम्भिक हस्तक्षेप

कहिलेकाहीँ बच्चाले चकलेट बढी खानु, ब्रस नगर्नु, औँला चुस्ने, जिब्रो धकेल्ने (टङ थ्रस्टिङ) जस्ता बानीले दाँत बाङ्गो बन्ने समस्या देखिने उनले बताए।

इन्टरसेप्टिभ अर्थोडोन्टिक्समार्फत ग्रोथ हुँदै गरेका बालबालिकामा प्रारम्भिक चरणमै समस्या समाधान गर्न सकिने उनले स्पष्ट पारे। स्पेस मेन्टेनर तथा स्पेस रिगेनर जस्ता उपकरणहरूले भविष्यमा दाँत बाङ्गिन नदिन मद्दत गर्ने उनको भनाइ छ।

श्वासप्रश्वाससम्बन्धी समस्या र दन्त स्वास्थ्य

माउथ ब्रिदिङ, बालबालिकामा देखिने स्लीप एपनिया जस्ता समस्याले पनि दाँत तथा अनुहारको विकासमा असर पार्ने भएकाले समयमै पहिचान आवश्यक रहेको उनले बताए। यी समस्यालाई वेवास्ता गर्दा वयस्क अवस्थामा ओबेसिटी र अब्स्ट्रक्टिभ स्लीप एपनिया जस्ता गम्भीर समस्या उत्पन्न हुन सक्ने चेतावनी उनले दिए।

दन्त स्वास्थ्य सम्पूर्ण शरीरसँग सम्बन्धित

डा. तिवारीले दन्त स्वास्थ्यलाई सम्पूर्ण शारीरिक स्वास्थ्यको प्रमुख ढोका भएको बताए। ‘दाँतले राम्रोसँग चपाउन नपाउँदा पेटको समस्या, अपचनदेखि मनोवैज्ञानिक असरसमेत पर्न सक्छ,’ उनले भने।

फेमिली डेन्टिस्टको आवश्यकता

नियमित रूपमा तीन–चार महिनामा डेन्टल चेकअप गर्न, ब्रश टेक्निक सुधार्न, फ्लोराइडयुक्त पेस्ट प्रयोग गर्न तथा माउथवाश प्रयोग गर्न उनले सुझाव दिए। परिवारका सबै सदस्यले भरपर्दो एक फेमिली डेन्टिस्टसँग सम्बन्ध कायम राख्नु आवश्यक रहेको उनको भनाइ छ।

ब्रसेस र क्लियर एलाइनर : आधुनिक प्रविधिले उपचार सहज

ब्रसेसका विभिन्न प्रकार मेटालिक, सेरामिक, सेल्फ–लाइगेटिङ, लिङ्गुअल तथा क्लियर एलाइनरबारे पनि डा. तिवारीले विस्तृत जानकारी दिए।

अर्थोडोन्टिक उपचार पेशेवर, एनएमसी–दर्ता भएका विशेषज्ञबाट नै गराउनुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराए।

क्लियर एलाइनर प्रविधि अत्याधुनिक र सजिलो भएको बताउँदै उनले भने, ‘स्क्यानिङपछि पेसेन्टलाई पहिलेदेखि नै प्रि–पोस्ट रिजल्ट देखाइन्छ, जसले उनीहरूलाई उपचारप्रति उत्साहित बनाउँछ।’

उनका अनुसार अहिलेका बिरामीहरू उपचारबारे ठूलो मात्रामा रिसर्च गरेर आउने भएकाले उनीहरूमा समस्या बुझ्ने र समाधान खोज्ने क्षमता बढेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार