सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सहयोगको प्रतिबद्धता

सोमबार, २२ मंसिर २०८२

काठमाडौँ : सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन्। उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए।

अवलोकन भ्रमणपछि बसेको बैठकमा एनसेल अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पु¥याएको योगदान तथा पछिल्लो जेनजी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए।

उक्त आन्दोलनका क्रममा काठमाडौँस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’ सहितका संरचनामा गम्भीर नोक्सानी पुग्दै कम्पनीलाई करिब ६५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका तथा राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिँदै एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न सुझाव दिए।

“जेनजी आन्दोलनका क्रममा एनसेललाई भएको करिब ६५ करोड रुपैयाँको क्षतिप्रति हामी दुःखी छौँ। नेपालमा विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध छ।

लगानी प्रवर्द्धन गर्न आवश्यक आधार तयार पार्छौँ। सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने। उनले एनसेलले विद्यार्थीहरूका लागि ल्याउन लागेको ‘जेनजी प्याक’ र प्रत्येक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने कम्पनीको नयाँ पहलको पनि प्रशंसा गरे।

बैठकमा एनसेलका सिइओ फोलेले देशभरका माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी १०० विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै, यसका लागि १ करोड रुपैयाँको कोष व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुझाव र युवाहरूलाई सहज सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुसार, विद्यार्थीहरूको आवश्यकता पूरा गर्न हामी छिट्टै ‘जेनजी प्याक’ सुरु गर्दछौँ,” उनले भने।

फोलेले अविरल सेवा प्रदान गर्ने एनसेलको अटल प्रतिबद्धता, सहनशीलता र नयाँ सङ्कल्पसहित अघि बढिरहने बताए। सरकारको डिजिटल नेपाल निर्माण लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको उल्लेख गर्दै उनले एनसेलको डेटा सेन्टर डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एक भएको स्पष्ट पारे।

आफ्ना सेवाहरूभन्दा बाहिर पनि एनसेल समाजप्रति योगदान दिन समान रूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा केन्द्रित परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्य हासिल गर्न सरकारका प्रयासलाई सहयोग प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार