एनसेलले नयाँ मोबाइल नम्बर रेञ्ज ‘९७१’ वितरण सुरु गर्यो

सोमबार, २२ मंसिर २०८२

काठमाडौं: एनसेल आम उपभोक्ताहरूको सुविधाका लागि सोमबार (मंसिर २२) बाट नयाँ मोबाइल नम्बर रेञ्ज ९७१ बाट सुरु हुने नम्बर वितरण गर्न थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नयाँ नम्बर रेञ्ज उपलब्ध गराउन अनुमति दिएको थियो।

प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (National Numbering Allocation Plan) अनुसार जारी गरिएको यो नम्बर रेञ्ज एनसेललाई उपलब्ध ९८०, ९८१, ९८२ र ९७० श्रृङ्खलाका नम्बर अपर्याप्त भएपछि प्रदान गरिएको हो।

एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तका अनुसार बजारको मागलाई अनुसारित गर्दै नयाँ नम्बर रेञ्ज जारी गरिएको हो। “आवश्यक तयारीपछि नयाँ नम्बर रेञ्ज वितरण थालिएको छ। साधारण सञ्चार सेवा मात्र होइन, डिजिटल कारोबार र मोबाइलमार्फत चल्ने विभिन्न सेवाको बढ्दो प्रयोगले नयाँ नम्बरले ग्राहक तथा सेवा प्रदायक दुवैलाई फाइदा पुर्‍याउनेछ,” उनले भने।

नयाँ नम्बर शुरू भएपछि एनसेलले मोबाइल प्रणालीसँग जोडिएका सरकारी तथा गैरसरकारी संस्था, सेवा प्रदायक कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो प्रणालीमा ९७१ नम्बर रेञ्ज इन्टिग्रेट वा अपडेट गर्न बाँकी रहेकाले चाँडै गर्न अनुरोध गरेको छ। चुस्त सेवा प्रवाहका लागि नयाँ नम्बरलाई प्रणालीमा समायोजन गर्नु आवश्यक हुने एनसेलले जनाएको छ।

सञ्चार सेवाबाहेक ओटीपी प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवामा साइन अप हुन, डिजिटल कारोबार गर्न लगायतका गतिविधिमा मोबाइल नम्बर अपरिहार्य भएकाले डिजिटलाइजेसनतर्फ अघि बढिरहेको वर्तमान परिवेशमा यो नयाँ नम्बर रेञ्ज महत्त्वपूर्ण बन्ने एनसेलले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार