बङ्गलादेशको विद्रोहमा सामुहिक हत्या गरी गाडिएका  चिहान उत्खनन सुरू

आइतबार, २१ मंसिर २०८२
photo: Google

बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ ।

विद्यार्थी आन्दोलनबाट सुरू भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।  

संयुक्त राष्ट्रसङ्घको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाईमा चिहानको उत्खनन् हुने बताइएको छ ।  

ती शवहरूलाई ढाकाको रेयरबजार कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले सन् २०२४ जुलाईमा ८० र अगस्टमा मा अन्य ३४ लावारिस शवहरू व्यवस्थापन गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

गत महिना मानवता विरुद्धको अपराधको लागि बङ्गलादेशको एक अदालतले उनलाई दोषी ठहराएको थियो ।
 
अपराध अनुसन्धान विभाग (सिआइडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ लावारिश शवहरू रहेको विश्वास गरेको बताएका छन् । 

“चिहान खनेर शव निकालिएपछि मात्र हामी शबको पहिचानबारे पुष्टि गर्न सक्छौँ,” उल्लाहले भनेका छन् । 

बाहिर निकालेका शवको पोस्टमार्टम परीक्षण र डिएनए परीक्षण गरिनेछ । यो प्रक्रिया पूरा हुन केही हप्ता लाग्ने अपेक्षा गरिएको छ ।

“एक वर्षभन्दा बढी भइसक्यो, त्यसैले नरम तन्तुहरूबाट डीएनए निकाल्न सम्भव छैन,” वरिष्ठ प्रहरी अधिकारी अबु तालेबले एएफपीसँग भनेका छन्,“हड्डीहरूबाट अनुसन्धानको काम गर्दा बढी समय खपत हुनेछ ।” 

ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञहरू टोलीमा सामेल छन् भने फोन्डेब्रिडरलाई संयुक्त राष्ट्रसङ्घ अधिकार निकाय ओएचसिएचआरसँगको सम्झौताको एक भागको रूपमा सहयोग प्रदान गर्न ल्याइएको छ ।
 
फोन्डेराइडरले यसअघि अर्जेन्टिनाको पूर्व सैन्य तानाशाहीको समयमा बेपत्ता भएका दशौँ हजार व्यक्तिहरूको अनुसन्धान गर्न सन् १९८४ मा स्थापना गरिएको अर्जेन्टिनाको मानवशास्त्रीय फरेन्सिक समूहको नेतृत्व गरेका थिए । 

अधिकारीका अनुसार निकालिएका शवहरूलाई धार्मिक संस्कार र उनीहरूको परिवारको इच्छाअनुसार पुनः गाडिनेछ ।
 
गत महिना अनुपस्थितिमा दोषी ठहर गरिएकी पूर्व प्रधानमन्त्री हसिनालाई अदालतले दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको थियो ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार