मोरङमा लाइसेन्स प्राप्त हतियार बुझाउन अटेर, प्रशासनद्वारा कारबाहीको चेतावनी

बुधबार, १४ माघ २०८२

विराटनगर । मोरङमा इजाजत (लाइसेन्स) प्राप्त हातहतियार बुझाउन हतियारधनीहरूले अटेरी गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मोरङले व्यक्तिगत रूपमा राखिएका सबै लाइसेन्स प्राप्त हातहतियार अस्थायी रूपमा प्रहरीको जिम्मामा बुझाउन आग्रह गरेको थियो । तर पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि अपेक्षित रूपमा हतहतियार संकलन हुन नसकेको प्रशासनले जनाएको छ ।

प्रशासनले पहिलोपटक पुस २५ गते सार्वजनिक सूचना जारी गर्दै माघ १० गतेसम्म हतियार बुझाउन समयसीमा तोकेको थियो । सो अवधिमा कसैले पनि हतियार नबुझाएपछि माघ १२ गते पुनः अर्को सूचना प्रकाशित गरी निर्वाचन सम्पन्न नहुन्जेलसम्म सबै किसिमका लाइसेन्स प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको थियो । त्यसपछि पनि ठूलो संख्यामा हतियार नबुझाइएकाले प्रशासनले अब कानुनअनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मोरङ जिल्लामा कुल १ हजार ३७ वटा लाइसेन्स प्राप्त हातहतियार रहेका छन् । तर हालसम्म जम्मा ११ वटा मात्रै हातहतियार संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालले बाँकी हतियार बुझाउन सम्बन्धित धनीहरूले आनाकानी गरिरहेको बताए । उनका अनुसार संकलन गरिएका सबै हातहतियार जिल्ला प्रहरी कार्यालयमा सुरक्षित रूपमा राखिनेछ र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिनेछ ।

प्रहरी उपरीक्षक कटवालले निर्वाचनको संवेदनशील समयमा लाइसेन्स प्राप्त हातहतियार दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अस्थायी रूपमा प्रहरीको नियन्त्रणमा राख्न खोजिएको स्पष्ट पारे । उनले विगतका निर्वाचनमा हतियारधनीहरूले स्वस्फूर्त रूपमा हतियार बुझाउने गरेको उल्लेख गर्दै यसपटक पनि जिम्मेवारीपूर्वक सहयोग गर्न आग्रह गरे । तोकिएको समयसीमाभित्र हतियार नबुझाएमा प्रहरीले घरघरमा गएर हतियार उठाउने र प्रशासनसँग सबै हतियारधनीको विवरण सुरक्षित रहेको उनले बताए ।

यसैबीच, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले हतियार बुझाउन अटेर गर्नेहरूमाथि कडा कारबाही गरिने स्पष्ट पारे । उनले हतियार नबुझाए लाइसेन्स नवीकरण नगर्ने, लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाउने र हतियार जफत गरिने बताए । ‘सबै हतियारको रेकर्ड प्रशासनसँग छ । नबुझाउनेको घरमै गएर हतियार ल्याइन्छ, फोनमार्फत पनि सम्पर्क गरिन्छ । कुनै बहाना स्वीकार्य हुँदैन,’ प्रजिअ कटेलले भने ।

उनका अनुसार कतिपय हतियारधनीले समय अभाव वा व्यक्तिगत कारण देखाएर ढिलाइ गरिरहेका भए पनि यस्तो अवस्था तत्काल अन्त्य गरी नजिकको प्रहरी युनिटमा हतियार बुझाउन आग्रह गरिएको छ । निर्वाचनको सुरक्षालाई मजबुत बनाउन हातहतियार संकलनलाई उच्च प्राथमिकतामा राखिएको प्रशासनको भनाइ छ । विनम्र आग्रहलाई बेवास्ता गरिएकाले अब अटेरी गर्नेहरूमाथि कारबाहीको विकल्प नरहेको प्रशासनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार