झापामा पहिलो महिला एसपीको कमाण्ड, चुनावी सुरक्षामा विषेश तयारी

मंगलबार, १३ माघ २०८२

झापा : झापामा पहिलो पटक महिला प्रहरी उपरीक्षक (एसपी) का रूपमा जिल्ला प्रहरीको कमाण्ड सम्हालेकी बसुन्धरा खड्काले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेकी छन्।

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी खड्काले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना तयार गरिएको जानकारी दिइन्।

उनका अनुसार खुला सीमा नाका, तस्करी, लागूऔषध ओसारपसारलगायत संवेदनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ प्रहरी परिचालन गरिनेछ। चुनावी अवधिभर जिल्लाका गाउँ–गाउँमा सादा पोशाकका प्रहरी खटाइने र प्रत्येक गतिविधिको सूक्ष्म निगरानी गरिने उनले बताइन्।

“उम्मेदवारलाई धम्की आएको खण्डमा वा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सादा पोशाकमै प्रहरी परिचालन गरिनेछ,” एसपी खड्काले भनिन्, “कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने हाम्रो स्पष्ट लक्ष्य हो।”

एसपी खड्का झापाकी ४६ औं प्रहरी उपरीक्षक हुन्। यसअघिका एसपी राजन लिम्बू काठमाडौं सरुवा भएपछि उनले झापाको कमाण्ड सम्हालेकी हुन्। हाल जिल्लामा करिब १२ सय प्रहरी कार्यरत रहेको र आवश्यक परे थप जनशक्ति माग गरिएको पनि उनले जानकारी दिइन्।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँग समन्वय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायले आ–आफ्नो तहबाट चुनाव लक्षित सुरक्षा योजना कार्यान्वयन गरिरहेको उनले बताइन्।

police office jhapa

यसैबीच, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हराइरहेका १६ नाल बन्दुक र फरार थुनुवाको खोजी कार्यलाई तीव्र बनाइएको पनि एसपी खड्काले जानकारी दिइन्। “लाइसेन्स बाहेकका हराएका हतियार र फरार थुनुवाबाट चुनावमा कुनै पनि प्रकारको जोखिम उत्पन्न हुन नदिनेमा प्रहरी सजग छ,” उनले स्पष्ट पारिन्।

खुला सीमा नाकाबाट हुने चोरी पैठारी, लागूऔषध कारोबार तथा विभिन्न प्रकारका तस्करी नियन्त्रण गर्न विशेष निगरानी बढाइने पनि उनको भनाइ छ।

एसपी भएपछि तेस्रो जिल्लाको कमाण्ड सम्हाल्न झापा आएकी खड्काले शान्ति सुरक्षा, कानून कार्यान्वयन र जनताको भरोसा जित्ने कार्यलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको बताइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार