इटहरी : सुनसरीको धरानस्थित सडकमा रोकेर राखेको ट्रकमा शुक्रवार बिहानका राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडकमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा बिहानका राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका थिए ।
दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा मोटरसाइकल चालक लिम्बूलाई चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । गम्भीर घाइते अवस्थाका राईको उपचार जारी छ ।
प्रहरीका अनुसार दुर्घटना लगत्तै मोटरसाइकल, ट्रक र ट्रक चालक तेह्रथुमको फेदाप गाउँपालिका–२ का २७ वर्षीय गणेश भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया