जेसीज ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफः १८ विद्यालयलाई पछि पार्दै बिकेभिएम स्कुल च्याम्पियन

मंगलबार, १३ माघ २०८२

विराटनगर : कोशी प्रदेशकै प्रतिष्ठित अन्तरविद्यालय ३०औँ संस्करणको जेसीज टेस्टी–टेस्टी हाजिरीजवाफ प्रतियोगिता मङ्गलबार विराटनगरमा सम्पन्न भएको छ । एउटै आयोजक र एउटै मुख्य प्रायोजकको तीन दशक लामो निरन्तरतासहित सञ्चालन हुँदै आएको प्रतियोगितामा १८ विद्यालयलाई पछि पार्दै बिकेभिएम स्कुलले उपाधि हात पारेको छ।

फाइनल चरणमा एभरेष्ट स्कुल, सहिद स्मृति स्कुल, बिकेभिएम स्कुल, इटहरीस्थित श्री जनता माध्यमिक विद्यालय, आरम्भ स्कुल र पूर्वाञ्चल स्कुल सहभागी थिए । प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बिकेभिएम स्कुल च्याम्पियन बन्न सफल भएको हो ।

उपाधिसँगै बिकेभिएम स्कुलले नगद १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको एभरेष्ट स्कुलले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा तृतीय स्थान हासिल गरेको श्री जनता माध्यमिक विद्यालय (इटहरी) ले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी विद्यालयहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मुख्य प्रायोजक काबरा ग्रुपका निर्देशक नवल किशोर काबरा, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल, निवर्तमान अध्यक्ष प्रीतेशराज दाहाल, बोर्ड अफ ट्रस्टका अध्यक्ष टिकाराज ढकाल, विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष तथा क्विज मास्टर डा. सन्देश दास श्रेष्ठ, तथा विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडा लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

समापन समारोहमा विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल र निवर्तमान अध्यक्ष प्रीतेशराज दाहालले तीन दशकदेखि प्रतियोगितालाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै यसले विद्यार्थीहरूमा ज्ञान, तार्किक क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता शिक्षामा निरन्तरता, अनुशासन र प्रतिबद्धताको सशक्त उदाहरण बनेको उल्लेख गरे । उनले ३० वर्षदेखि एउटै आयोजक र एउटै प्रायोजकको निरन्तरतामा प्रतियोगिता सञ्चालन हुनु आफैंमा प्रशंसनीय उपलब्धि भएको बताए ।

त्यसैगरी, विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडाले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा योगदान पुर्‍याउँदै आएको बताइन् ।

विगत ३० वर्षदेखि काबरा ग्रुपको ‘टेस्टी–टेस्टी’ बिस्कुट मुख्य प्रायोजक रहेको यस प्रतियोगिता ‘जेसीज टेस्टी–टेस्टी हाजिरीजवाफ प्रतियोगिता’को नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगितामा क्विज मास्टरको भूमिका विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डा. सन्देश दास श्रेष्ठ र पूर्व अध्यक्ष सन्दीप दास श्रेष्ठ ले निरन्तर निर्वाह गर्दै आएका छन् ।

यसअघि २५औँ संस्करणसम्म वीरन्द्र सभागृहमा सञ्चालन हुँदै आएको प्रतियोगिता सभागृहको मर्मत तथा पुनर्निर्माणका कारण केही वर्ष अन्यत्र सञ्चालन गरिएको थियो । ३०औँ संस्करणदेखि पुनः निर्माण सम्पन्न भएसँगै वीरन्द्र सभागृहमै प्रतियोगिता फर्किएको छ ।

विराटनगर जुनियर जेसीजका महासचिव ओम जोगी का अनुसार प्रतियोगितामा कोशी प्रदेशका १८ वटा विद्यालय सहभागी भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार