मुक्कुमलुङमा केवलकार खारेजीको आन्दोलन फेरि सशक्त बन्दै

बिर्तामोडमा विरोध सभा

मंगलबार, १३ माघ २०८२

झापा : ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाविरुद्ध उठेको आन्दोलन फेरि सशक्त बन्दै गएको छ । मुक्कुमलुङ संरक्षण संघर्ष समिति तथा केवलकार खारेजीका लागि संघर्षरत संस्थाहरूले मंगलबार बिर्तामोडमा विरोध सभा आयोजना गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडि आयोजना गरिएको सभामा मुक्कुमलुङ संरक्षण संघर्ष समितिका झापा जिल्ला अध्यक्ष हिमालयन प्रकाश कन्दङ्वासहित विभिन्न राजनीतिक तथा पहिचानवादी दलका नेताहरूले सम्बोधन गरेका थिए ।

सभामा राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष मित्र लिङ्देन, पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, कियाचु झापा जिल्ला सचिव भिम माया तुबपो, नेकपा (माओवादी –विप्लव समूह) का प्रतिनिधिसभा झापा क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुन पाण्डे, श्रम संस्कृति पार्टीकी जिल्ला सचिव सोनाली माबो, उज्यालो नेपालका कुमार स्याम्बो, संघीय लिम्बुवान राष्ट्रिय मोर्चाका जिल्ला अध्यक्ष राजा आङ्थुपो, पहिचानवादी मोर्चाकी संघीय सदस्य शर्मिला आङदम्बे तथा पहिचानवादी मोर्चा झापाका जिल्ला संयोजक एल.बी. पालुङ्वालगायतको सहभागिता रहेको थियो ।

वक्ताहरूले मुक्कुमलुङ क्षेत्र किरात समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पवित्र भूमि भएको उल्लेख गर्दै त्यहाँ व्यावसायिक उद्देश्यका लागि केवलकार निर्माण गर्नु गलत भएको बताएका थिए ।

केवलकार परियोजनाले प्राकृतिक सम्पदा, धार्मिक आस्था र स्थानीय समुदायको मौलिक पहिचानमा गम्भीर असर पार्ने भन्दै परियोजना तत्काल खारेज गर्न सरकारसँग माग गरिएको थियो । विकासको नाममा स्थानीय समुदायको भावना र ऐतिहासिक महत्वलाई बेवास्ता गर्न नहुनेमा उनीहरूले जोड दिएका थिए ।

सभामा बोल्ने नेताहरूले मुक्कुमलुङ संरक्षणको आन्दोलनलाई शान्तिपूर्ण तर सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । आवश्यक परे आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने चेतावनी समेत दिएका थिए । निर्वाचनको मिति नजिकदै गर्दा पाथीभरा केवलकार निर्माणको विषय पुनः सतहमा आएको छ ।   

ताप्लेजुङस्थित पाथीभरा मन्दिर नेपालका प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हो, जहाँ वार्षिक हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । तीर्थयात्रीको आवागमन सहज बनाउन भन्दै केही वर्षअघि निजी क्षेत्रको सहभागितामा केवलकार परियोजना अघि बढाइएको थियो ।

परियोजनाअन्तर्गत तल्लो फेदिदेखि मन्दिर नजिकसम्म यात्रुलाई छोटो समयमै पु¥याउने लक्ष्यसहित केवलकार सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । यही क्रममा पहिचानवादी समूहको तीव्र विरोध रहँदै आएको छ ।

गत वर्ष यही विषयलाई लिएर ताप्लेजुङमा आन्दोलन चर्किएको थियो । सोही क्रममा पाथीभरा क्षेत्रमा प्रहरीसँग झडप समेत भएको थियो । 

गत वर्ष जनवरी २५ मा बालुडाँडामा ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुई जना प्रदर्शनकारी गोली लागेर घाइते भएका थिए ।

फुङ्लिङस्थित काफ्लेपाटीबाट मन्दिरसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण सुरु भएसँगै स्थानीय र पहिचानवादी समूहबीच पटक–पटक आन्दोलन हुँदै आएको छ ।

आन्दोलनकारीहरूले मुक्कुमलुङ क्षेत्र लिम्बु समुदायको मौलिक मुन्धुमी थलो भएको र त्यहाँ ठूला संरचना निर्माण गर्नु सांस्कृतिक अतिक्रमण भएको दाबी गर्दै आएका छन् ।

आन्दोलनकारी समूहहरूले पाथीभरा नाम परिवर्तन गरी मुक्कुमलुङ पुनः कायम गर्न माग गरेका छन् । उनीहरूको दाबी अनुसार मुक्कुमलुङ लिम्बु समुदायको पवित्र मुन्धुमी थलो हो, जहाँ ठूला पूर्वाधार परियोजना स्वीकार्य नभएको ठहर गर्दै आन्दोलन अघि बढाइएको हो ।

केबलकारको अवधारणा पहिलो पटक सन् १९८८ मा राजा वीरेन्द्रको भ्रमणपछि उठेको थियो । सन् १९९८ मा कञ्चनजंघा केबलकार प्रालि दर्ता भए पनि परियोजना लामो समय अलपत्र रह्यो ।

वि.सं २०७५ सालमा फुङ्लिङ नगरपालिकाले पाथीभरा माता दर्शन प्रालिलाई निर्माण अनुमति दिएको थियो । पछि यति समूह हुँदै आइएमई समूहले परियोजना खरिद गरेको हो । आइएमई समूहका अध्यक्ष चन्द्र ढकालको अगुवाइमा हाल पाथीभरा केवलकार निर्माण कार्य अघि बढाइएको छ ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार