काठमाडौं : पूर्वको गौरव का रूपमा परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
काठमाडौंस्थित त्रिपुरेश्वरको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता गरिएको हो। सम्झौतामा सप्तकोशी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्।
कम्पनीले रू १०० अंकित मूल्यका चुक्ता पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने लक्ष्य लिएको छ।
सप्तकोशी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादन गर्ने उद्योग हो, जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ। कम्पनीले नेपाल गुणस्तरका मापदण्डअनुसार पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट (पीपीसी) र ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) – ४३ तथा ५३ ग्रेड उत्पादन गर्दै आएको छ।
नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले सन् २०१९ यता निरन्तर सञ्चालन नाफा कायम गर्न सफल भएको छ। पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगट्दै आएको कम्पनीले अन्य प्रतिस्पर्धी कम्पनीहरूसँग पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
आर्थिक वर्ष २०८१र८२ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री हासिल गरेको छ। सोही नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो।
कम्पनीले आगामी आईपीओबाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको उत्पादन क्षमता विस्तारमा उपयोग गर्ने जनाएको छ। यसले उत्पादन प्रक्रियामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया