झापा : सुख्खायाम शुरुभएसंगै झापामा आगलागीका घटना हुन थालेका छन् । बिहीबार मात्रै झापाका तीन अलग अलग स्थानमा आगलागीका घटना घटेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार आगलागीका कारण १५ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएका हो । आगलागीका कारण मानवीय क्षति नभएपनि धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८ हात्तिकिल्लामा राजन चौलागाईको डेढ तले पक्की घरको छतमा रहेको पूजा कोठामा बालेको दियोबाट आगो सल्किँदा कोठाभित्र राखिएको धान, लत्ताकपडा तथा अन्य सामग्री जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै बिहीबार राति गौरादह नगरपालिका–५ चान्दु टोलमा आगलागी भएको छ । कुलबहादुर थापाको काठे गोठ नजिक फोहोर जलाउने क्रममा आगो फैलिँदा गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरी चौकी महारानीझोडाले जनाएको छ।
आगलागीमा गोठभित्रको बाछो, खसी, बाख्रा र कुखुरा गरी ५ वटा पशु जलेर मरेका छन्। गाई र बाछो दुईवटा घाइते भएका छन्। मकै ५० मन, भुस ५ बोरा लगायतका सामग्री जलेर करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गौरादह र कमल गाउँपालिकाको दमकलले करिब ३ बजे आगो नियन्त्रणमा ल्याएका थिए।
यता बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रालिका कामदार बस्ने घरमा ग्यास लिक भएर आगो लागेको थियो।
बिहीबार साँझ ६ः४० बजे भएको आगलागी स्थानीयको सहयोगमा ७ः२० बजे नियन्त्रणमा आएको थियो । किचेन तथा टाँसिएको कोठा जलेर कामदारहरूको नगद १ लाख ५० हजार, लत्ताकपडा, ३ वटा मोबाइलसहित करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
पछिल्लो समय झापामा मात्र होइन सुनसरी, मोरङ, ताप्लेजुङ लगायतका जिल्लमा पनि दिनहुँ जसो आगलागीका घटना भइरहेका छन् ।
प्रतिक्रिया