पुरुष तथा महिला दुवैतर्फ जागृति टोल विकास संस्था च्याम्पियन

आइतबार, ०४ माघ २०८२

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ८ को वडा कार्यालयद्वारा आयोजित सातौं वडा अध्यक्ष कप अन्तर्गतको फुटबल प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ जागृति टोल विकास संस्थाले उपाधि हात पारेको छ।

श्री सरस्वती सतन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न पुरुष फुटबलतर्फको फाइनल खेलमा जागृतिले शिव मन्दिर टोल विकास संस्थालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो।

पुरुष फुटबलतर्फ विजेता जागृतिले नगद २० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता शिव मन्दिरले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा बेष्ट गोलकिपर जागृति टोलका सन्दीप साह, बेष्ट मिडफिल्डर शिव मन्दिर टोलका भविश्वर बुर्जामगर, हाइ स्कोरर शिव मन्दिरकै धौला चौधरी घोषित भए भने म्यान अफ दि सिरिज जागृति टोलका राजु गच्छदार बने। सबै विधामा उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरियो।

यस्तै, महिला फुटबलतर्फ पनि जागृति टोल विकास संस्थाले उपाधि जितेको छ। जागृतिले सयपत्री टोल विकास संस्थालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।

महिला फुटबलतर्फ विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। यसतर्फ बेष्ट गोलकिपर जागृति टोलकी सरिता चौधरी, बेष्ट मिडफिल्डर सयपत्री टोलकी सुशिला बलमपाकी घोषित भइन् भने हाइ स्कोरर तथा म्यान अफ दि सिरिज सयपत्री टोलकी मञ्जु राई साही बनिन्।

यसैगरी, पुरुष भलिबलतर्फ पशुपति टोल विकास संस्थाले उपाधि हात पारेको छ। पशुपतिले हाम्रो टोल विकास संस्थालाई २–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता पशुपतिले नगद १५ हजार र उपविजेता हाम्रो टोलले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। खेलमा पशुपति टोलका अंकित विक उदयमान खेलाडी घोषित भए।

ब्याडमिन्टनतर्फ गीताप्रसाद धमला र भूवन दाहालको जोडी प्रथम भयो। उनीहरूले नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै, नेत्र गिरी र भिष्म चौधरीको जोडी दोस्रो हुँदै नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई नागरिक समाज इटहरीका पूर्व अध्यक्ष सन्तबहादुर डुम्जन, पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मुरारी आचार्य, वडा नं. ८ का वडाध्यक्ष रोहित चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार