इटहरी : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद अन्त्य गर्दै आसन्न निर्वाचनमा साझा सहमति र एकतासहित अघि बढ्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक अपिल जारी गर्दै विश्वकर्माले अहिले केवल कांग्रेस मात्र नभई राष्ट्रवादी लोकतान्त्रिक दलहरू र मुलुककै राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकता गम्भीर मोडमा पुगेको बताएका छन् । यस्तो अवस्थामा मुलुकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन भएको उनको धारणा छ ।
उनले सबै दल निर्वाचनमा होमिइसकेको अवस्थामा मुलुकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने आन्तरिक विवादमै अल्झिएर अघि बढ्न नसकेको टिप्पणी गरेका छन् । “दौडनुपर्ने कांग्रेस हिँड्न सकेको छैन, हिँड्नुपर्ने घस्रिन पनि सकेको छैन,” उनले भनेका छन् ।
विशेष महाधिवेशनको आवश्यकता, त्यसको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले यस विषयमा आफ्ना विमतिहरू आयोग र अदालतमा विचाराधीन रहेको बताए । यद्यपि, प्रक्रिया प्रति विमति भए पनि फागुन २१ को निर्वाचन परिणामलाई मध्यनजर गर्दै ऐतिहासिक सहमति र एकता अपरिहार्य भएको उनले जोड दिएका छन् ।
उनका अनुसार न त विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णयले, न त चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको एकल निर्णयले मात्र पार्टीलाई विजयतर्फ लैजान सक्छ ।
“केवल सबैको साझा सहमति, साझा प्रयास र साझा उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ,” विश्वकर्माको भनाइ छ।
उनले अदालतमा पुगेको विवाद अदालतमै छोड्न र परिणाम जे आए पनि स्वीकार गर्न पार्टी नेतृत्व तयार हुनुपर्ने बताएका छन् । “हिजो भदौ २४ मा ज्यानका लागि घर छोड्न तयार भयौँ, आज पार्टीका लागि घमण्ड त्याग्न तयार बनौँ,” उनले भने।
टिकट वितरणसम्बन्धी विवादलाई स्मरण गर्दै विश्वकर्माले आधा टिकटमा देउवाको हस्ताक्षर भइसकेको र बाँकीमा अब गगन थापाले गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् । सबैको सहमतिमा उम्मेदवार चयन गरी उत्साहका साथ कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाउन उनले आग्रह गरे ।
उनले देउवा, गगन थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई घेराबन्दीबाट बाहिर आएर एकै ठाउँमा बसेर निर्णय गर्न अपिल समेत गरेका छन् ।
अन्त्यमा विश्वकर्माले बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले हाँकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसलाई उत्साह, उमंग र एकतासहित अघि बढाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया