काठमाडौं। नेकपा एमाले सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोट प्रक्रियामा असहमति जनाउँदै नोट अफ डिसेन्ट राखेका छन्। अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै भट्टराईले लिखित असहमति राख्ने बताएका हुन्। बैठकमा सहभागी एक सदस्यका अनुसार महाधिवेशनमा प्रतिस्पर्धा गरेका आधारमा काखापाखा गरिएको अनुभूति व्यक्त गर्दै भट्टराईले आपत्ति जनाएका थिए।
सचिवालय बैठकले ताप्लेजुङमा उम्मेदवार खाली राख्ने निर्णय गरेको छ भने अन्तिम टुंगो लगाउने अधिकार अध्यक्ष ओलीले आफैं लिएका छन्। बैठकमा अध्यक्ष ओलीले ताप्लेजुङमा भट्टराईलाई उम्मेदवार बनाए चुनाव नजित्ने विश्लेषण प्रस्तुत गरेका थिए। विवाद देखिएको र स्थानीय तहबाट समेत नजित्ने मूल्यांकन आएको भन्दै अहिलेको सन्दर्भमा भट्टराईलाई उम्मेदवार बनाउनु उपयुक्त नहुने धारणा ओलीले राखेका थिए।
यस क्रममा उपाध्यक्ष गोकर्ण विष्टलगायत नेताहरूले प्रतिवाद गर्दै भट्टराई यसअघि दुईपटक सोही क्षेत्रबाट निर्वाचित भइसकेको र पार्टीको उपमहासचिवसमेत रहेकाले अन्यथा मूल्यांकन गर्नु उचित नहुने तर्क गरेका थिए। तर अध्यक्ष ओली आफ्नो अडानमा अडिग रहेपछि ताप्लेजुङको उम्मेदवार खाली राख्न महासचिव शंकर पोखरेललाई निर्देशन दिइएको बताइएको छ।
प्रतिक्रिया