इटहरी : आज मार्ग कृष्ण त्रयोदशीका अवसरमा पूर्वी नेपालभरका मठमन्दिरमा दिप प्रज्वलन गर्दै आफ्ना पितृहरुको उद्धारको कामना गरिएको छ।
मार्ग कृष्ण त्रयोदशीका दिन मठमन्दिरमा बत्ती बाल्ने र भजनकीर्तन गर्दै जाग्राम बस्ने परम्परा छ। स्थानीय जनविश्वासअनुसार आजको दिन पितृको चिरशान्तिको कामना गर्दै जाग्राम बस्दा पितृ दोषबाट मुक्ति मिल्ने विश्वास छ।
पूर्वी नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै सुनसरीको बराहक्षेत्र, पिण्डेश्वर, रामधुनी, खोटाङको हलेसी महादेव, झापाको अर्जुनधारा र सतासी मठमन्दिरमा दिप प्रज्वलन गरी पितृ उद्धारको कामना गरिएको छ।
आजको दिन दिप प्रज्वलन गर्ने भक्तजनहरूले भोलि वालाचतुर्दशीका दिन सतबीज छर्ने परम्परा पनि निभाउनेछन्। यस दिन शिवालय र अन्य धार्मिक स्थलहरूमा धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैका बिउहरू शतबीजको रूपमा छर्ने चलन छ।
यसरी छरेका शतबीजले पितृको चिरशान्ति हुने र छर्ने व्यक्तिको पितृ दोष निवारण हुने धार्मिक विश्वास रहेको छ।
प्रतिक्रिया