रौतहट : आम जनता पार्टी (आजपा) ले बाढीपीडित किसान र सर्वसाधारणलाई तत्काल राहत र मुआब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसँग माग गरेको छ ।
आजपा रौतहट क्षेत्र नं. १ क्षेत्रीय कमिटीले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई “बाढीपीडितलाई न्याय र किसानलाई राहत” दिन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई ज्ञापनपत्र बुझाउने क्रममा आजपा निकट आम उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष साजन जयसवालको नेतृत्वमा पुगेको टोलीले माग तत्काल सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
जयसवालले भने, “हालैको बाढी र अविरल वर्षाले किसानका खेतबारी, घर र पशु सम्पत्ति सबै नष्ट भएका छन् । बाढीपीडित टहरामा बाँच्न बाध्य छन् । अब सरकारले न्याय दिनुपर्छ, ढिलाइ सह्य हुँदैन ।”
आजपाले “बाढीपीडित राहत र किसान मुआब्जा पदयात्रा” कार्यक्रम सञ्चालन गर्दै किसान र नागरिकको पीडा सरकारमाझ उजागर गरेको थियो ।
ज्ञापनपत्रमार्फत आजपाले निम्न मागहरू अघि सारेको छ :-
बाढीपीडितलाई तत्काल खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने,
किसानको क्षति उचित मूल्यांकन गरी मुआब्जा दिनुपर्ने,
कृषि ऋण स्थगन र ब्याज माफीको व्यवस्था गर्नुपर्ने,
राहत वितरण र बाढी नियन्त्रणमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने,
नदी तटबन्ध र जलनिकास प्रणाली सुधार गरी दीर्घकालीन समाधान ल्याउनुपर्ने ।
ज्ञापनपत्र बुझाउने टोलीमा अमित साह, श्रीभगवान पटेल, अनिल झा, जयलाल महतो, दिनेश सहनी, कार्तिक जयसवाल, राजेश साह, महेश यादवलगायतका नेताहरू सहभागी थिए । कार्यक्रममा आजपा सचिवालय सदस्य रामशरण यादव पनि उपस्थित थिए ।
प्रतिक्रिया