ब्रिटिश कलेजको स्पष्टीकरण : बदनियतपूर्वक कलेजविरुद्ध भ्रामक आरोप फैलाइयो

बुधबार, ०९ पुस २०८२

काठमाडौं : मानव तस्करी र शोषणको आरोप लागेको द ब्रिटिश कलेजले आरोपहरूको खण्डन गरेको छ। कलेजले एक प्रेस विज्ञप्ति जारी गरेर ‘मानव तस्करी’ र ‘शोषण’ जस्ता आरोपहरू पूर्णतः असत्य, आधारहीन रहेको दाबी गरेको छ।

पछिल्लो समय कलेजमा अध्ययनरत केही र पूर्व विद्यार्थीहरूले  विरोध गरिरहेका छन्। मंगलवार तोडफोड समेत भएको थियो।

बुधवार जारी विज्ञप्तिमा कलेजले शिक्षण संस्था जस्तो मर्यादित क्षेत्रमाथि ‘मानव तस्करी’ जस्तो गम्भीर र मानहानिपूर्ण आरोप लगाइनु निन्दनीय भएको उल्लेख छ। कलेजले आफ्नो कानुनी र नैतिक मापदण्डमा अडिग रहेको स्पष्ट पारेको छ। 

विज्ञप्तिमा भनिएको छ, 'द ब्रिटिश कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपहरूलाई कलेज पूर्ण रूपमा अस्वीकार गर्दछ। यस्ता आरोपहरू पूर्णतः असत्य, आधारहीन र मानहानिपूर्ण रहेका छन्। शिक्षण संस्था जस्तो प्रतिष्ठित र जिम्मेवार संस्थामाथि यस्ता भ्रामक र अपुष्ट आरोप लगाइनु निन्दनीय कार्य हो। कलेज आफ्नो शैक्षिक, कानूनी तथा नैतिक मापदण्डप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्दछ।'

कलेजले आफू नियामक तथा संस्थागत मापदण्डअनुसार चलेको र अन्तर्राष्ट्रिय विश्वविद्यालयका मापदण्ड पालना गरिरहेको दाबी गरेको छ। चर्चामा आएजस्तो विद्यार्थीहरू दुबईमा अलपत्र नपरेको कलेजको भनाइ छ। हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत ५१ जना विद्यार्थीमध्ये ९ जना मात्र व्यक्तिगत असन्तुष्टिका कारण नेपाल फर्किएको स्पष्ट पारेको छ। 

कलेजले पछिल्ला केही दिनका घटनाक्रमलाई ‘नियोजित’ भनेको छ। पुस ७ र ८ गते कलेजमा भर्ना नै नभएका व्यक्ति र बाह्य विद्यार्थी समूहले विद्यार्थीको समर्थनका नाममा अशान्ति मच्चाएको कलेजको आरोप छ। समस्या समाधानका लागि प्रहरी र अभिभावकको रोहबरमा तीन पटकसम्म औपचारिक वार्ताका लागि बोलाउँदा पनि असन्तुष्ट पक्ष सहभागी हुन नआएको कलेजको भनाई छ। 

कलेजले हाल पठनपाठन र परीक्षाका सबै कार्यक्रमहरू नियमित तालिकाअनुसार नै चलिरहेको स्पष्ट पारेको छ। विद्यार्थीको हित र सुरक्षालाई नै प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेको छ।

यस्तो छ कलेजले जारी गरेको प्रेस विज्ञप्ति :

द ब्रिटिश कलेज, काठमाडौं
द ब्रिटिश कलेजले सामाजिक सञ्जाल तथा अन्य आम सञ्चार माध्यममार्फत यस कलेजविरुद्ध बदनियतपूर्वक फैलाइएका भ्रामक सूचना, दोषपूर्ण सामग्री तथा सार्वजनिक आरोपहरूका सन्दर्भमा यथार्थपरक तथ्य स्पष्ट गर्न यो प्रेस विज्ञप्ति जारी गरेको हो।

१. संस्थागत तथा कानुनी आधार
द ब्रिटिश कलेज सम्बन्धित नियामक निकायको स्वीकृतिमा उच्च शिक्षा प्रदान गर्दै आएको नेपालको एक प्रतिष्ठित शैक्षिक संस्था हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको औपचारिक अनुबन्धमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, कलेजले नेपालका सम्बन्धित नियामक तथा संस्थागत मापदण्डअनुसार अवलम्बन गर्नुपर्ने सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै आएको स्पष्ट गर्दछ।
द वुलविच इन्स्टिच्युट, दुबई, संयुक्त अरब इमिरेट्सको प्रचलित कानुनबमोजिम त्यहाँको सम्बन्धित नियामक निकायको स्वीकृति तथा मान्यतामा सञ्चालनमा रहेको एक स्वतन्त्र शैक्षिक संस्था हो। उक्त संस्थाले हाल २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ।

२. कार्यक्रम संरचना तथा शैक्षिक प्रगति
द ब्रिटिश कलेजमा सञ्चालन हुने Foundation कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त शैक्षिक कार्यक्रम हुन्। यस कलेजले विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि आवश्यक शैक्षिक तथा व्यावसायिक दक्षता प्रवर्द्धन गर्न मद्दत गर्दछ। यस्ता कार्यक्रमहरू अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त छ।

स्वीकृत शैक्षिक कार्यक्रम अर्न्तगत Hospitality Management (HM) Foundation Level अध्ययनरत विद्यार्थीहरूलाई TWI, दुबईमा Higher National Diploma (HND) कार्यक्रम अर्न्तगत विद्यार्थीको सैद्धान्तिक ज्ञान एवं सिप विकास अभिवृद्धि लागि अवसर प्रदान गरिन्छ।

Higher National Diploma (HND) सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले शैक्षिक प्रदर्शन, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार Level 6 (Top-Up Bachelor’s Degree) दुबई, बेलायत वा अष्ट्रेलियास्थित साझेदार विश्वविद्यालयहरू वा शिक्षण संस्थामा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

३. इन्टर्नसिपको अवसर
विद्यार्थीहरूको व्यावसायिक सीपहरू विकासको लागि इन्टर्नसिपको अवसर प्रदान गरिन्छ। तथापि इन्टर्नशिपको ग्यारेन्टी गरिँदैन र सो कुरा विद्यार्थीहरूलाई भर्ना पूर्व नै स्पष्ट रूपमा जानकारी गराइने गरिएको छ।

४. दुबईमा आवासको व्यवस्था
दुबई जाने विद्यार्थीहरूलाई प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायक मार्फत अस्थायी आवासको व्यवस्था हुन्छ। यी व्यवस्था छोटो अवधिका लागि मात्र हुने कुरा स्पष्ट रूपमा जानकारी गराइएको तथा सम्झौतामा उल्लेख गरिएको थियो। उक्त प्रारम्भिक अवधि पछि विद्यार्थीहरूले आफ्नो दीर्घकालीन आवासको व्यवस्था आफैं गर्नुपर्ने हुन्छ, जुन अन्तर्राष्ट्रिय अध्ययन तथा आवागमनका सामान्य अभ्यास अनुसार हो। कुनै पनि अवस्थामा विद्यार्थीहरूलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको छैन। यसबारे गरिएका सबै दाबीहरू पूर्ण रूपमा झुटो, असत्य, भ्रामक र तथ्यहीन हुन्।

५. केही विद्यार्थीको नेपाल फिर्ता र फिर्ती प्रक्रिया
करिब ५१ जना Hospitality Management विद्यार्थीहरू मध्ये ९ जना विद्यार्थीहरू व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएका हुन्। उक्त विद्यार्थीहरूलाई इन्टर्नशिपको अवसर प्रदान गरिएको थियो, जसको सुरुवात डिसेम्बर १, २०२५ बाट हुने तय गरिएको थियो। विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले विद्यार्थी तथा अभिभावकहरूसँग तुरुन्तै औपचारिक परामर्श प्रक्रिया सुरु गरेको थियो। छलफलहरू पारदर्शी, सम्मानजनक र रचनात्मक वातावरणमा सम्पन्न गरिएका थिए।

उक्त छलफलहरू आपसी समझदारी तथा अभिभावकका सुझावहरू अनुरूप अगाडि बढाइएका थिए। त्यस समयमा सम्बन्धित अभिभावक तथा फर्किएका विद्यार्थीहरू सन्तुष्ट रहेको प्रतिक्रिया प्राप्त भएको थियो। समस्या सकारात्मक संवादमार्फत समाधानको दिशातर्फ अघि बढिरहेको अवस्था थियो।

६. सामाजिक सञ्जालको दुरुपयोग तथा क्याम्पस अवरोध
मंसिर २३ दिन केही HM विद्यार्थीहरूले कलेजको पूर्व अनुमति र स्वीकृति बिना प्रत्यक्ष छलफलको क्रममा सामाजिक सञ्जालमा सामग्री प्रसारण गरेका थिए। यस कार्यका कारण कलेजका कर्मचारीहरूलाई अनावश्यक पीडा पुगेको थियो।

पौष ७ मा, अभिभावकहरूसँग समाधानमुखी छलफल भइसकेको अवस्थामा पनि, बाह्य संस्थासँग सम्बन्धित केही व्यक्तिहरूले विद्यार्थीको समर्थनको नाममा परिस्थिति अशान्त बनाउने प्रयास गरेका थिए। यस क्रममा भ्रामक पर्चाबाजी, उक्साउने गतिविधि, तथा कर्मचारीहरू विरुद्ध आधारहीन आरोप लगाइएको थियो। केही कर्मचारीहरूलाई दुर्व्यवहार समेत गरिएको थियो।

पौष ८ मा, समस्या समाधानका प्रयास जारी रहँदा पनि, हाल कलेजमा भर्ना नभएका व्यक्ति तथा विद्यार्थी सङ्घको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गरेका थिए। साथै, सामाजिक सञ्जालमार्फत अपुष्ट तथा दोषपूर्ण आरोपहरू फैलाउने, कलेजको कार्यालयमा तोडफोड गर्ने, तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्यहरू गरिएको अवस्था थियो। कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरेको थियो। विद्यार्थीहरूलाई कलेजका आधिकारिक प्रतिनिधि, सञ्चालक तथा स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा तीन पटकभन्दा बढी औपचारिक बैठकमा सहभागी हुन आमन्त्रण गरिएको थियो।

यति धेरै अवसर प्रदान गरिँदा पनि, विद्यार्थीहरूले बैठकमा उपस्थित भई संवाद गर्न अस्वीकार गर्दै अनधिकृत गतिविधिमा संलग्न हुने बाटो रोजेको देखियो। यस अवस्थाले कलेजका विद्यार्थी तथा कर्मचारीहरूमा असहज परिस्थिति सिर्जना गरेको छ।

कलेजको सुरक्षा तथा शैक्षिक वातावरण सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न सुरक्षा निकायको सहयोग लिनुपर्ने अवस्था सिर्जना भएको छ।

७. शोषण वा मानव तस्करी सम्बन्धी आरोप
द ब्रिटिश कलेजमाथि लगाइएका शोषण वा मानव तस्करी सम्बन्धी सबै आरोपहरूलाई कलेज पूर्ण रूपमा अस्वीकार गर्दछ। यस्ता आरोपहरू पूर्णतः असत्य, आधारहीन र मानहानीपूर्ण रहेका छन्। शिक्षण संस्था जस्तो प्रतिष्ठित र जिम्मेवार संस्थामाथि यस्ता भ्रामक र अपुष्ट आरोप लगाइनु निन्दनीय कार्य हो। कलेज आफ्नो शैक्षिक, कानूनी तथा नैतिक मापदण्डप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्दछ।

८. विद्यार्थीको हित तथा विकास
विद्यार्थीको हित, सुरक्षा, मर्यादा र समग्र विकास द ब्रिटिश कलेजको प्रमुख तथा अपरिहार्य प्राथमिकता हो। कलेजले सबै विद्यार्थीहरूलाई सुरक्षित, सम्मानजनक र सहयोगी शैक्षिक वातावरण प्रदान गर्न निरन्तर प्रतिबद्धता व्यक्त गर्दछ। कुनै पनि अवस्थामा विद्यार्थीमा मानसिक, शैक्षिक, व्यवहारिक वा व्यक्तिगत समस्या देखा परेमा, कलेजले सम्बन्धित विद्यार्थीको गोपनीयता, आत्मसम्मान र कानूनी अधिकारलाई पूर्ण सम्मान गर्दै आवश्यक सहयोग उपलब्ध गराउने गर्दछ। यस्ता सहयोगहरू परामर्श, मार्गदर्शन तथा संस्थागत सहायताका माध्यमबाट प्रदान गरिन्छ।

विद्यार्थीसँग सम्बन्धित संवेदनशील विषयहरू कलेजले सदैव व्यावसायिक, कानूनी र विधिगत प्रक्रिया अनुसार समाधान गर्ने गर्दछ। यस्ता विषयहरूलाई अड्कल, अफवाह वा सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसको विषय नबनाई, औपचारिक संयन्त्र र जिम्मेवार संवादमार्फत समाधान गरिन्छ।

कलेजले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूसँग खुला, पारदर्शी र उत्तरदायी संवाद कायम राख्ने नीति अवलम्बन गरेको छ।

विद्यार्थीको दीर्घकालीन शैक्षिक तथा व्यावसायिक हित सुनिश्चित गर्न कलेज सदैव सहकार्य र सकारात्मक समाधानको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट गर्दछ।

९. विद्यार्थीको शैक्षिक गतिविधिको निरन्तरता र अभिभावकलाई आश्वासन
द ब्रिटिश कलेजले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रमहरू नियमित तथा निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको स्पष्ट गर्दछ। यस क्रममा पठनपाठन, मूल्याङ्कन तथा परीक्षाहरू सम्बन्धित शैक्षिक क्यालेन्डर अनुसार नै सञ्चालन हुनेछन्।

हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको र शैक्षिक गतिविधिमा कुनै अवरोध नरहेको जानकारी गराइन्छ। यस विषयमा कुनै पनि दुविधा वा भ्रमको अवस्था छैन।

कलेजले अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई अपुष्ट, भ्रामक वा तथ्यहीन सूचनामा विश्वास नगर्न अनुरोध गर्दछ।

कलेज गुणस्तरीय शिक्षा प्रदान गर्न तथा विद्यार्थीलाई रचनात्मक र जिम्मेवार सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार