सेना प्रमुखसहित आठजनाको विमान दुर्घटनामा मृत्यु

बुधबार, ०९ पुस २०८२

काठमाडौं । लिबियाली सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ । विमानमा आठजना सवार थिए, सबैको घटनास्थलमै मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन–५० विमानको भग्नावशेष अंकाराको नजिकै हायमाना क्षेत्रमा फेला परेको छ । विमान टेकअफ भएको ३० मिनटपछि नै प्राविधिक समस्या आएको थियो, जसका कारण दुर्घटना भएको बताइएको छ ।

यो लिबियाली सैन्य प्रतिनिधिमण्डल अंकारामा टर्कीसँग रक्षा सहयोग बढाउन उच्चस्तरीय वार्ता गरेर लिबियातर्फ फर्किरहेको थियो ।

दुर्घटनामा मारिनेमा लिबियाका स्थलसेना प्रमुख जनरल अल–फितुरी घ्रैबिल, ब्रिगेडियर जनरल महमूद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब, सैन्य फोटोग्राफर मोहम्मद ओमर अहमद महजुब र तीनजना क्रू सदस्य छन् ।

विमानले इमर्जेन्सी ल्यान्डिङको सन्देश पठाएको थियो
लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबैबाले विज्ञप्ति जारी गरी जनरल अल–हद्दाद र अन्य अधिकारीहरूको मृत्यु पुष्टि गरेका छन् । उनले यसलाई देशका लागि ठूलो क्षति भनेका छन् ।

टर्कीका गृहमन्त्री अली यरलिकायाका अनुसार, विमान स्थानीय समयअनुसार मंगलबार राति करिब ८ बजे अंकाराको एसनबोगा विमानस्थलबाट उडेको थियो । विमान उडेको केहीबेरपछि सम्पर्क विच्छेद भएको थियो ।

विमानले हायमाना क्षेत्रनजिकै आपतकालीन ल्यान्डिङको संकेत पठाएको थियो, तर त्यसपछि कुनै सम्पर्क हुन सकेन ।

अंकारा विमानस्थल अस्थायी रूपमा बन्द
स्थानीय टिभी च्यानलहरूमा जारी सीसीटीभी फुटेजमा रातको आकाशमा तेज उज्यालो र विस्फोटजस्तो दृश्य देखिएको छ । विमानको भग्नावशेष अंकाराबाट करिब ७० किलोमिटर दक्षिण हायमाना जिल्लाको एक गाउँनजिकै फेला परेको छ ।

दुर्घटनापछि अंकारा विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको छ । धेरै उडानहरूलाई अन्य विमानस्थलमा पठाइएको छ । टर्कीको न्याय मन्त्रालयले दुर्घटनाको अनुसन्धानका लागि चार अधिकारीहरूलाई नियुक्त गरेको छ । त्यस्तै, लिबिया सरकारले पनि अनुसन्धानमा सहयोगका लागि आफ्नो टोली अंकारा पठाउने निर्णय गरेको छ ।

प्रत्यक्षदर्शी भन्छन्– बम फुटेजस्तो लाग्यो
हायमानाका एक स्थानीय बासिन्दा बुरहान चिचेकले जोडदार विस्फोटको आवाज सुनेको बताए । उनले भने, “बम फुटेजस्तो लाग्यो ।” टर्कीको मिडियामा पनि दुर्घटनाको समय आकाशमा चम्किलो उज्यालो देखिएको तस्बिरहरू देखाइएका छन् ।

दुर्घटनाको जानकारी पाएपछि अंकारामा लिबियाका राजदूत पनि घटनास्थलमा पुगेका थिए । लिबिया सरकारका मन्त्री वालिद अल्लाफिका अनुसार टर्की सरकारले तुरुन्तै घटनाको जानकारी दिएको र प्राविधिक समस्याका कारण विमानसँग सम्पर्क विच्छेद भएको बताएको थियो ।

मोहम्मद अल–हद्दाद सन् २०२० को अगस्टदेखि लिबियाली सेनाका चिफ अफ स्टाफ थिए । त्यतिबेलाका प्रधानमन्त्री फाएज अल–सर्राजले उनलाई यो पदमा नियुक्त गरेका थिए ।

लिबिया धेरै वर्षदेखि राजनीतिक संकटसँग जुधिरहेको छ । देश दुई भागमा विभाजित छ, एकातिर त्रिपोलीमा संयुक्त राष्ट्रसंघ समर्थित सरकार छ, जसको नेतृत्व अब्दुलहमीद दबीबा गरिरहेका छन् । अर्कोतिर पूर्वी लिबियामा कमान्डर खलिफा हफ्तारको प्रशासन छ ।

सन् २०११ मा नेटो समर्थित विद्रोहपछि लामो समय सत्तामा रहेका नेता मुअम्मद गद्दाफीको मृत्यु भएदेखि देशमा अस्थिरता कायमै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार