मोरङको टाँडी–मधुमल्ला भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ९ जना घाइते

शुक्रबार, ०७ कार्तिक २०८२

मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोवेनी बजार नजिक टाँडी–मधुमल्ला भित्री सडक खण्डमा शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार उत्तर टाँडीबाट दक्षिण मधुमल्लातर्फ जाँदै गरेको को १ च ९६०२ नम्बरको पिकअपलाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ६११८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करपछि पिकअप अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किँदा सवारमध्ये ९ जना घाइते भएका हुन्।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको र ६५ वर्षीया जानकी दनुवारलाई अवस्था गम्भीर भएकाले नोबेल अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेहरूमा उर्लाबारी–१ की २६ वर्षीया जमुना चौधरी, ३२ वर्षीया सविता दनुवार, ४५ वर्षीया दिलमाया तामाङ, ४४ वर्षीया गङ्गा मगर, ४८ वर्षीया छिरिङ तामाङ, ५३ वर्षीया शान्ता तामाङ, १० वर्षका जेशम दनुवार र ४२ वर्षीया देवी दनुवार रहेका छन्।

उनीहरू मध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि पिकअप चालक मोहन दनुवार (५०), उर्लाबारी–१ निवासी, र कार चालक मोहनकुमार श्रेष्ठ (४५), झापा दमक–८ निवासीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा इलाका प्रहरी चौकी टाँडीका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्र राईको टोली खटिएको थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार