उदयपुरको कटारीमा बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा १५ जना घाइते

शुक्रबार, ०७ कार्तिक २०८२

उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा ४ बिजुलेडाडा स्थित बोलेरो दुर्घटनामा १५ जना घाइते भएका छन्।

कटारीबाट लेखानीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नं बोलेरो पिकअप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार १५ जना घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याइ उपचार भइरहेको छ। बिरामीको अवस्था अनुसार अन्य अस्पतालमा रेफर गर्ने तयारी समेत भइरहेको छ।

सो दुर्घटनामा घाइते हुनेहरूमा सिन्धुली दुधौली नगरपालिका-१४ बस्ने ६७ वर्षीय क्षेत्र बहादुर मगर, कटारी नगरपालिका-८ बस्ने ४५ वर्षीय अर्जुन तामाङ, सोही नगरपालिका बस्ने २५ वर्षीया राममाया तामाङ रहेका छन्।

यसैगरी अन्य घाइतेहरूमा कटारी १४ का ३३ वर्षीय मीना कुमारी तामाङ, ३० वर्षीय दुर्गा दुलाल, २४ वर्षीय मनिषा दुलाल रहेका छन्। त्यसैगरी सो दुर्घटनामा परेर सोही नगरपालिका वडा ९ बस्ने अनिल तामाङको १३ वर्षीय छोरा लाटाङ तामाङ, वडा नं ८ बस्ने ५२ वर्षीय दिल बहादुर तामाङ, वडा नं ८ का ५९ वर्षीय अमृत बहादुर तामाङ, वडा नं ८ बस्ने ६२ वर्षीय रत्नलाल तामाङ घाइते भएका छन्।

अन्य घाइतेहरूमा सोही बस्ने ४३ वर्षीय मान बहादुर श्रेष्ठ, ६८ वर्षीय कृष्ण राई, वडा नं १४ बस्ने ३४ वर्षीय देव बहादुर राई, वडा नं ५ बस्ने ६ वर्षीया चन्द्र बहादुर तामाङ (सोम बहादुर तामाङको छोरा) र २२ वर्षीय लक्ष्मी तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ कि बोलेरो चालक कटारी नगरपालिका वडा नं १४ लेखानी बस्ने ३० वर्षीय सागर राईलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार