मोरङको सुनवर्षीमा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद, मेडिकल सञ्चालक फरार

शुक्रबार, ०७ कार्तिक २०८२

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–२ बाट प्रहरीले शुक्रवार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको छ।

उक्त औषधिसहित एक जना पक्राउ परेका छन् भने मेडिकल सञ्चालक फरार रहेका छन्।

प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचका लागि रोक्दा पछाडि सवार व्यक्ति भागेका थिए।

मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको जेब्रा झोलाभित्र ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झोलाभित्र १५ हजार ट्याब्लेट प्रतिबन्धित ‘स्पासपेन’ भेटिएको हो।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको टोलीले औषधि बरामद गरी चालक राजवंशीलाई नियन्त्रणमा लिएको छ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि रङ्गेली प्रहरीमा राखिएको छ। औषधि व्यवस्था विभागसँग समन्वय गरी राजवंशीमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा राजवंशीले उक्त औषधि सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएको बयान दिएका छन्।

मोटरसाइकलको पछाडि सवार व्यक्ति त्यही मेडिकलका सञ्चालक कार्तिक दास भएको राजवंशीले प्रहरीलाई बताएका छन्। राजवंशीका अनुसार उनीहरू औषधि उर्लाबारी पुर्‍याउनका लागि गएको बेला पक्राउ परेका हुन्।

मोटरसाइकल रोक्नेबित्तिकै दास भाग्न सफल भए पनि प्रहरी उनकी मेडिकलमा पुगेको थियो। तर, मेडिकल बन्द रहेको र सञ्चालक फरार भएको प्रहरीले जनाएको छ। उनको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको छ।

प्रहरीले घटनापछि सुनवर्षी र आसपासका औषधि पसलहरूमा निगरानी कडा पारेको जनाएको छ। बरामद औषधि र पक्राउ परेका व्यक्तिलाई सम्बन्धित निकायको समन्वयमा आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार