विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले वर्तमान सरकारका कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश कमिटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले भने, “असंवैधानिक सरकारले गरेका निर्णय र कार्य हामीलाई मान्य छैनन् ।”
प्रदेश अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साध्ने उद्देश्य राखेको आरोप लगाइएको छ । त्यसविरुद्ध कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ ।
पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ । विज्ञप्तिमा भनिएको छ, “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिन खोज्दै मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ ।”
लोकतन्त्र र संविधानको रक्षाका निम्ति प्रतिनिधिसभा पुनस्र्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग एमालेले दोहोर्योएको छ ।
कोसीका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव ¥याली र विभिन्न प्रकारका विरोध कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको छ । सरकारले गर्ने कुनै पनि प्रतिशोधपूर्ण व्यवहार, धरपकड वा अनुचित कार्य सहन नहुने चेतावनी दिँदै कडा प्रतिवाद गरिने स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक सरकारबाट गरिने कुनै पनि प्रतिगमनकारी कदम र षड्यन्त्रविरुद्ध नेकपा (एमाले) कोसी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रनेछ ।”
लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानव अधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा, विद्यार्थीलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन कमिटीले अपिल पनि गरेको छ ।


प्रतिक्रिया