सुनसरी : धरान र इटहरीमा बिहीबार भएका छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका–१७ सर्दुपुल नजिक चतराबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल बिहीबार अपराह्न करिब ४ः४० बजे आफैँ अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका ५२ वर्षीय पुरुषलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पुर्याइए पनि चिकित्सकले साँझ ५ः५२ बजे मृत घोषणा गरेका थिए।
मृतक उदयपुर चौदण्डीगढी नगरपालिका–४ निवासी नगेन्द्रप्रसाद राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यस्तै, बिहीबार राति करिब ९ बजे इटहरी उपमहानगरपालिका–११ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका इटहरी–८ का २५ वर्षीय राम सरदारलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइए पनि राति करिब १० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया