सुनसरी : सुनसरीको कोशी गाउँपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सडक दुर्घटनामा ७० वर्षीय वृद्धको ज्यान गएको छ।
लौकहीबाट सप्तरीको कंकालिनी मन्दिरमा बोको लिएर पूजा गर्न जाँदै गरेको बा ३० प ३८७६ नम्बरको मोटरसाइकल बिहान करिब ३ः३० बजे बाटोमा हिँडिरहेको गधालाई बचाउने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा गढी गाउँपालिका–५ गुरुङ टोलका ५५ वर्षीय चालक झुमन गुरुङ घाइते भएका छन्। उनको टाउको र ढाडमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तर, सोही मोटरसाइकलमा सवार उनका दाजु ७० वर्षीय करणबहादुर गुरुङ गम्भीर घाइते भई बोल्नै नसक्ने अवस्थामा पुगेका थिए।
उनलाई कोशी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल, भोक्राहा पुर्याइए पनि बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक झुमन गुरुङलाई उपचारपछि डिस्चार्ज गरी नियन्त्रणमा लिइएको छ। मृतकको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको थियो।
प्रतिक्रिया