‘एकता’ अभियानमार्फत नयाँ शक्ति–सन्तुलन खोज्दै नेपाली कम्युनिष्ट पार्टी

आइतबार, ३० कार्तिक २०८२

नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी ‘एकता सन्देश सभा’ सुरु गर्ने निर्णय गर्दै कम्युनिष्ट आन्दोलनभित्र नयाँ शक्ति–सन्तुलन निर्माणको संकेत दिएको छ। आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व–पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहसम्म एकसाथ एकता अभियान थाल्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।

यस पहललाई नेतृत्वले पार्टी एकतामार्फत "समाजवादको दिशातर्फ पुनः एकीकृत राजनीतिक मोर्चा" निर्माण गर्ने प्रयासका रूपमा देखिरहेको छ। बैठकले एकता सुदृढीकरणका लागि विशेष अन्तर–पार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ, जसमा कार्यक्रमको मोडालिटीदेखि भाषिक–राजनीतिक सन्देशसम्मका विषय समेटिने छन्।

खनालका अनुसार एकता सन्देश सभाका लागि विशेष अपिल पनि सार्वजनिक गरिनेछ। एकता अभियान पार्टीभित्र सीमित नबसी देशभरका समर्थक र आम नागरिकलाई संगठनात्मक रूपमा आकर्षित गर्ने उद्देश्य राखिएको उनको भनाइ छ।

खनालले अशोक राई र उपेन्द्र यादव नेतृत्वका दलसँग पनि निरन्तर संवाद भइरहेको जनाउँदै निकट भविष्यमै थप एकीकरणको वातावरण बन्ने विश्वास व्यक्त गरे। यसले नयाँ कम्युनिष्ट पार्टीले तत्कालीन राजनीतिक समीकरणहरू फेरबदल गर्ने रणनीतिक चाहना बोकेको आभास दिन्छ।

खनालले नयाँ पार्टीलाई सबै पुस्ताको साझा प्लेटफर्मका रूपमा प्रस्तुत गर्दै नेतृत्व पुस्तान्तरण र संगठनगत खुलापनमा जोड दिए। उनका अनुसार, वर्तमान एकता अभियान कुनै शक्ति–विरोधी कदम नभई जनतालाई जागृत गर्ने र दीर्घकालीन विचारधारा–आधारित आन्दोलन निर्माण गर्ने अभियान हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार