उद्घाटनदेखि केही महिनामै इटहरीको प्रणामी अस्पताल बन्द : आखिर दोष कसको ?

शनिबार, २९ कार्तिक २०८२

इटहरीः सुनसरीको इटहरी–४ बुढीगंगा–जमुना मुक्तिघाट क्षेत्रमा १० करोड रुपैयाँ लगानीमा बनेको मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल उद्घाटन भएको केही महिनामै पूर्णरूपमा बन्द हुने अवस्थामा पुगेको छ । भवनको नक्सा स्वीकृति नलिइएको र अस्पताल नदिउकास गरिएको जमिनमा बनेको देखिएको भन्दै इटहरी उपमहानगरपालिकाले सेवा सञ्चालनको अनुमति रोकिदिएकाले अस्पतालको सेवा नै ठप्प भएको हो ।

वैशाख १ गतेदेखि १५ शय्यासहित सुविधा सम्पन्न अस्पतालका रुपमा सञ्चालनमा आएको संस्थाले एक्स–रे, ल्याब, विशेषज्ञ सेवा लगायतका सुविधा उपलब्ध गराएको दाबी गर्दै आएको थियो । तर, स्वीकृति विवादले सबै सेवा अचानक बन्द हुँदा यहाँ कार्यरत कर्मचारीसम्म कटौती गर्नुपर्ने अवस्था आएको छ । कतिपय कर्मचारीले आफूहरूलाई जानकारी नै नदिई हटाइएको भन्दै विरोधसमेत जनाएका छन् ।

स्वीकृति नदिने कारण : ‘नदिउकासको जमिन’

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिनेश कुमार चौधरीका अनुसार अस्पतालले देखाएको जग्गा नदी उकास जमिन(ऐलानी जग्गा)मा पर्ने देखिएकाले स्वीकृति दिन नमिल्ने अवस्था छ ।

‘ओरिजिनल कागजात नपुगेको र जमिनको प्रकृति स्पष्ट नभएकाले हामी रोकिएका हौं, यसै हप्ता पुनः स्थल निरीक्षणमा जान्छौं ।’ चौधरीले बताए । 

उनले अस्पताल उद्घाटन भएको कुरा नगरलाई औपचारिक रूपमा थाहा नदिइएको पनि उल्लेख गरे । 

५०० बेडको ‘ठूलो योजना’, तर १५ बेडमै ब्रेक

अस्पताल व्यवस्थापन समितिले इटहरीमा ५०० बेडको ठूलो अस्पताल बनाउने दीर्घकालीन योजना सार्वजनिक गरेको थियो । तर, प्रारम्भिक प्रक्रिया नपुगी हतारमा १५ बेडको अस्पताल सञ्चालन गरेपछि अहिले पूर्णरूपमा बन्द हुने स्थितिसम्म आइपुगेको हो ।

‘नगरसभाबाटै पास गरेर भएपनि स्वीकृति दिने नगरपालिकाको कुरो थियो र हामीले स्वीकृति समेत भएको भन्ने जानकारी पाएका थियौं । तर, त्यसो भएको रहेन छ ।’ श्रोत भन्छ ।

यसले इटहरीजस्तो शहरमा स्वास्थ्य संस्थाको व्यवस्थापन र नगरपालिकासँगको समन्वय कति अपरिहार्य छ भन्ने पनि देखाएको छ । इटहरीका समाजसेवी अभियन्ता रामप्रसाद पोखरेलले सामाजिक सञ्जालमार्फत अस्पताल छिट्टै सञ्चालनमा फर्किने विश्वास व्यक्त गरेका छन्।

‘उपमहानगरपालिका र अस्पताल व्यवस्थापन दुवै पक्षको पहलमा सेवा चाँडै सुचारु हुने संकेत मिलिसकेको छ ।’ उनले भने ।

यसअघि २०८२(यसै वर्ष) सालको नयाँ वर्ष अवसरमा अस्पतालको औपचारिक उद्घाटन प्रणामीका गुरु डा. सदानन्द महाराजले गरेका थिए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष हेम घिमिरेका अनुसार नगरपालिकामा पटक–पटक निवेदन दिए पनि स्वीकृति प्रक्रिया अनावश्यक रूपमा ढिलाइ भएको छ ।

“आधुनिक एक्स–रे, ल्याबदेखि विशेषज्ञ चिकित्सकसम्म सबै सेवा तयार छ, तर स्वीकृति नआउँदा रोकिएका छौं,” घिमिरेले भन्ने गरेका छन् । 

के सञ्चालनमा चुनौती छ ?

विशेषज्ञ डाक्टरको स्थायी बसाइ इटहरीमा नहुँदा पनि चुनौतीपूर्ण रहेको स्थानीय अस्पताल सञ्चालकहरू बताउँछन्।

उनीहरूका अनुसार, “डाक्टरहरू धरान र विराटनगरमा बस्न सहज मान्छन् । इटहरीमा बसाइ, समय र क्याजुअल ड्युटी अनुकूल नभएकाले यहाँ ‘क्लिनिकल बेस’ बनाउन गाह्रो हुन्छ ।”

पूर्वाञ्चल विश्वविद्यालयले गोठगाउँमा एमबीबीएस शिक्षण सुरु गरेसँगै भविष्यमा वातावरण सुधार हुने अपेक्षा उनीहरूको छ ।

अस्पताल स्रोतका अनुसार आवश्यक कागजात पूरा गरेर, आवश्यक परे नयाँ भवनमार्फत भए पनि सेवा पुनः सुचारु गर्ने तयारी छ ।

‘समस्या प्राविधिक हो, निराकरण हुन्छ । अस्पताल फेरि सञ्चालनमा आउनेछ ।’ स्रोतको दाबी छ ।
 

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार