झापा इनर्जीको सातौं साधारणसभा, सौर्य उर्जाबाट राष्ट्रको आर्थिक विकासमा योगदान

शुक्रबार, १८ पुस २०८२

झापा : उर्जा क्षेत्र मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएर स्थापना गरिएको झापा इनर्जी लिमिटेड कम्पनीको सातौँ वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुको अध्यक्षतामा शुक्रबार सम्पन्न सभामा कम्पनीका उपलब्धि र आगामी योजनाबारे छलफल गरिएको थियो।

कम्पनीको स्थापना २०७५ असोज १६ गते भएको थियो। त्यसपछि झापा इनर्जीले शिवसताक्षी नगरपालिका वडा नम्वर ४, बुलुचोकमा १० मेगावाट क्षमताको सौर्य उर्जा (सोलार) परियोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरणसँग २०७८ मंसिर महिनामा विद्युत खरिद–बिक्री सम्झौता गरेको थियो।

सञ्चालक सुवास भट्टराईका अनुसार २०८० माघ १० गतेदेखि व्यवसायीक उत्पादन शुरु गरी उत्पादित विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तर्गत बुलुचोक सब स्टेशनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ।

सभामा प्रस्तुत प्रतिवेदन अनुसार, आर्थिक वर्ष ०८१÷०८२ मा कम्पनीले १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत बिक्री गरेको उल्लेख गरियो । त्यसैगरी, २०८२ साउन १ गतेदेखि मंसिर मसान्तसम्म ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

कम्पनीले पहिलो पटक ९ लाख ५० हजार ४७५ कित्ता सेयर जारी गरेको थियो। यसमा ३ लाख ८० हजार १९० कित्ता स्थानीय, ५७ हजार २९ कित्ता विदेशमा रहेका लगानीकर्ताका लागि, ११ हजार ४०६ कित्ता कर्मचारीका लागि, र बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणका लागि वितरण गरिएको अध्यक्ष साँवाले जानकारी गराए । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल लगायतका अतिथीहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक द्धिराज शर्मा शिवाकोटी, रामचन्द्र उप्रेती, नरहरी फुयाँल, दिपेन्द्र प्रसाई, महाप्रबन्धक सरोज श्रेष्ठ, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतको उपस्थिति रहेको थियो। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार