युवराज अधिकारीले नेपाल एयरलाइन्समा भर्ती गरेका कर्मचारी तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

आइतबार, १६ कार्तिक २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा मनलाग्दी र प्रक्रियाविहीन रूपमा भर्ती गरिएका करार कर्मचारीहरूलाई तत्काल हटाउन निर्देशन दिएकी छन्।

नागरिक उड्डयन तथा संस्कृति, पर्यटन मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले निगमको सञ्चालक समिति र व्यवस्थापनका उच्च अधिकारीहरूलाई सिंहदरबार बोलाएर पहुँचका आधारमा गरिएको करार भर्ती तत्काल रोक्न र हटाउन निर्देशन दिएकी हुन्।

‘नातावाद, कृपावाद र विभेद अन्त्यका लागि देशभर आन्दोलन भइरहेका बेला पनि भटाभट आफ्ना मान्छे भर्ती गरिएको छ। अवकाश भएर घर जान लाग्दा पनि मनपरी गर्ने प्रवृत्ति छाडिएको छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो बेथिति तुरुन्तै रोक्नुहोस्।’

यसअघि निगमका कार्यकारी अध्यक्षबाट अवकाश भएका युवराज अधिकारीले जाँदै–जाँदै ४५ जना कर्मचारीहरूलाई कुनै प्रक्रिया बिना नियुक्ति दिएका थिए। उनले आफ्नो कार्यकालमा २ सयभन्दा बढी कार्यकर्तालाई करारमा नियुक्त गरेको आरोप पनि लागेको छ।

उक्त भेटमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम १७ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको जानकारी गराएका थिए।

प्रधानमन्त्री कार्कीले निगमको जहाजको इन्जिन मर्मतमा पठाएर नल्याएको र भाडामै ल्याइएको इन्जिनको भुक्तानीसमेत नतिरी सञ्चालन गरिएको विषयमा पनि चासो व्यक्त गरेकी थिइन्।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार