निर्वाचनको तयारीमा गृह मन्त्रालय : संयमित रहन सबैलाई आग्रह

शनिबार, ०८ कार्तिक २०८२

काठमाडौँ : गृह मन्त्रालयले सरकारले आगामी निर्वाचनको वातावरण बनाउन सक्रिय रुपमा काम गरिरहेको बताउँदै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारेको छ । मन्त्रालयले वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति र समूहहरूले धर्ना, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरिरहेका विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी शान्ति–सुरक्षाको अवस्था सामान्य बनाएर निर्वाचन केन्द्रित वातावरण बन्दै गएको छ ।”

मन्त्रालयका अनुसार देशमा अस्थिरता ल्याउने प्रयत्नमा रहेका स्वार्थ समूहहरूले यस्ता कार्यक्रममार्फत अराजकता फैलाउने जोखिम रहेको भन्दै आयोजकहरू नै सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

मन्त्रालयले जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार आगामी फागुन २१ गते तय भएको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । त्यसका लागि सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत र साधनको व्यवस्था, राजनीतिक दल र सरोकारवालासँग निरन्तर वार्ता र संवाद गरिरहेको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिनु जरुरी छ । सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षामा खलल नपरोस्, साम्प्रदायिक सद्भाव कायम रहोस् र राष्ट्रिय हित प्रवर्द्धनमा सबैले योगदान पुर्‍याओस् भन्ने मन्त्रालयको आग्रह छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार