राप्रपा र राप्रपा नेपालबीच पुस १६ मा एकता घोषणा सभा: लिङ्देन र थापाद्वारा हस्ताक्षर

बुधबार, ०९ पुस २०८२

काठमाडौं : टुटफुट र विभाजनको शृङ्खला व्यहोर्दै आएका दुई राष्ट्रवादी शक्तिहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पुनः एकता भएको छ। बुधबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकताको सहमति पत्रमा हस्ताक्षर गरेसँगै पार्टी एकताले मूर्त रूप पाएको हो।

सहमति अनुसार आगामी पुस १६ गते विशेष समारोहका बीच पार्टी एकताको औपचारिक घोषणा सभा आयोजना गरिनेछ।

२०७८ सालको मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते पार्टी परित्यागको घोषणा गरेका थिए। तत्कालीन समयमा थापाले "निर्मल निवास" (पूर्वराजा) को हस्तक्षेपका कारण आफू पराजित भएको गम्भीर आरोप लगाउँदै २०७८ फागुन ७ गते राप्रपा नेपालको पुनर्गठन गरेका थिए।

करिब तीन वर्षको छुट्टै राजनीतिक यात्रापछि दुवै नेता पुरानो तिक्तता मेटाउँदै एउटै झण्डामुनि आउन सहमत भएका हुन्।

विगत केही समयदेखि दुवै पार्टीका दोस्रो तहका नेताहरूले राष्ट्रवादी शक्तिहरू विभाजित हुँदा कमजोर भइने भन्दै एकताका लागि दबाब दिँदै आएका थिए। बुधबार भएको दुई अध्यक्षबीचको निर्णायक छलफलले प्राविधिक र सैद्धान्तिक विषयहरू टुङ्ग्याएपछि एकताको बाटो खुलेको हो।

सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै नेताले देशको वर्तमान राजनीतिक परिस्थितिमा बलियो राष्ट्रवादी विकल्प आवश्यक भएकाले एकता गरिएको सन्देश दिएका छन्।

राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा बोकेका यी दुई शक्ति एक भएपछि आगामी निर्वाचन र सडक आन्दोलनमा राप्रपाको शक्ति थप बढ्ने अनुमान गरिएको छ। यद्यपि, पार्टीको शक्ति बाँडफाँड र सांगठनिक संरचना कसरी व्यवस्थापन गरिनेछ भन्ने विषय भने पुस १६ को घोषणा सभामा प्रष्ट पारिने बुझिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार