काठमाडौँ। पत्नी हुँदाहुँदै सालीसँग बिहे गराइदिन दबाब दिँदै एक युवकले टेलिफोन टावर चढेर चेतावनी दिएको घटना भारतको उत्तर प्रदेश राज्यको औरैया जिल्लामा सार्वजनिक भएको छ। गोपालपुर गाउँका शहरुद्दीन उर्फ शेरा नाम गरेका युवकले सोमबार बिहान करिब साढे ९ बजे गाउँकै टेलिफोन टावर चढेर आफूले सालीसँग बिहे गर्न नपाए टावरबाट झर्ने चेतावनी दिएका थिए।
घटनाको जानकारी पाएपछि परिवारका सदस्य, गाउँले र स्थानीय प्रशासन घटनास्थलमा पुगेका थिए। टावरमाथिबाट युवकले आफ्नो माग दोहोर्याउँदै दबाब दिएपछि वातावरण तनावग्रस्त बनेको थियो। शहरुद्दीनकी पत्नीसमेत डेढ वर्षीय बच्चा लिएर घटनास्थलमा पुगेकी थिइन्। तर युवक आफ्नो अडानबाट पछि नहटेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पहल गरेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले समन्वय गर्दै युवककी सालीलाई समेत घटनास्थलमा बोलाएको थियो। सालीसँग बिहे गराइदिने आश्वासन दिएपछि करिब तीन घण्टापछि युवकलाई टावरबाट सुरक्षित रूपमा तल झारिएको जनाइएको छ। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया