झापा : झापाको भद्रपुर नगरपालिका–१०, सयपत्री मार्गमा बुधबार दिउँसो धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छिन्।
भद्रपुरकी २६ वर्षीया सुरुेखा मुखियामाथि दुई जना अज्ञात पुरुषले धारिलो हतियार प्रहार गरेका हुन्। बुधबार मध्यान्ह करिब १२ बजे भएको उक्त घटनामा मुखियाको बायाँ हात र गालामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।
घाइते मुखियालाई स्थानीय ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खडकाले जानकारी दिए।
प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जना पुरुष कालो र निलो रङ्गको मोटरसाइकलमा घटनास्थलबाट फरार भएका छन्। उनीहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको बताइएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाको टोली खटिएको छ र फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीको अनुसार दिउँसोको समयमा भएको यस घटनाले क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया