बिर्तामोडमा कुटपिटबाट युवकको मृत्यु, फरार अभियुक्त शिवसताक्षीबाट पक्राउ

विहीबार, ०६ कार्तिक २०८२

झापा : झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ करिब ६ः३० बजेतिर बिर्तामोड–५ निवासी ३० वर्षीय जगन राजवंशीमाथि सोही स्थानमा सामान्य विवादका क्रममा कुटपिट भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका राजवंशीलाई आफन्तले तत्कालै उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनिबाट अनुसन्धान टोली खटिएको थियो।

अनुसन्धानका क्रममा राजवंशीमाथि कुटपिट गरेको आरोपमा बिर्तामोड–५ कै २६ वर्षीय हेमकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीलाई घटनापछि झापाकै शिवसताक्षी नगरपालिका–७ बैङडाँडाबाट लुकिछिपी बसेको अवस्थामा आज बिहान नियन्त्रणमा लिइएको हो।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

प्रहरीले घटनाको कारण र पृष्ठभूमि खुलाउन थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार