विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका दुई वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेर महाप्रबन्धकसहित २० जना नेपालीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले राति करिब ११ बजेतिर छापा हानेको हो।
प्रहरीका अनुसार रत्ना होटलमा सञ्चालित ‘गोल्डेन कोइन’ नामक क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र बिग होटलमा रहेको ‘च्याम्पियन जोन’ क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका हुन्। पक्राउ परेका सबै नेपाली नागरिक रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए।
पक्राउ परेका अन्य व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। क्यासिनोमा नेपाली नागरिकको प्रवेश कानुनतः निषेध रहेकाले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाले तत्काल नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक कटवालका अनुसार हाल पक्राउ परेकाहरूको ‘स्क्रिनिङ’ प्रक्रिया भइरहेको छ। केही पक्राउ परेकाले आफू कर्मचारी भएको दाबी गरेकाले परिचयपत्र तथा कागजात परीक्षण भइरहेको छ। स्क्रिनिङ र सोधपुछपछि मात्र कति जनाविरुद्ध मुद्दा दर्ता हुने भन्ने विषय यकिन हुने प्रहरीले जनाएको छ।
नेपाली नागरिकलाई प्रवेश निषेध रहेको क्यासिनोमा निर्वाध रूपमा जुवाजन्य खेल खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा हानेको प्रहरीले स्पष्ट पारेको छ। छापा हान्दा क्यासिनोभित्र नेपालीहरू खुलेआम खेलिरहेको अवस्थामा फेला परेकाले व्यवस्थापकसहित त्यहाँ उपस्थित सबै नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विराटनगरमा हाल दुई वटा क्यासिनो सञ्चालनमा छन्। कानुनले क्यासिनोमा विदेशी नागरिक मात्र प्रवेश गर्न पाउने व्यवस्था गरे पनि ती क्यासिनोमा लामो समयदेखि नेपालीहरूले निर्वाध रूपमा प्रवेश गरी जुवा खेल्दै आएको आरोप लाग्दै आएको छ। क्यासिनोमा प्रवेशका लागि विदेशी नागरिक पुष्टि हुने परिचयपत्र अनिवार्य भए पनि सञ्चालकले आर्थिक लाभका लागि नेपालीलाई प्रवेश गराउने गरेको स्रोतको दाबी छ।
क्यासिनोमा नेपालीको निर्वाध प्रवेशका कारण विवाद, झगडा तथा आपराधिक गतिविधि समेत हुने गरेको गुनासो यसअघि नै उठ्दै आएको थियो। क्यासिनोमा नेपालीलाई प्रवेश गराइएको विषयमा ‘हेलो सरकार’लगायत विभिन्न निकायमा उजुरी परिसकेको भए पनि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको आरोप लाग्दै आएको छ। हाल पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया