सुनसरीबाट एकसय तेईस किलो गाँजा सहित एक युवक पक्राउ

बुधबार, ०५ कार्तिक २०८२

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–५ बाट लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

बुधवार राति करिब १ बजेतिर प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको टोलीले कोशी गाउँपालिका–५ वडा कार्यालय नजिक प्र.१–०२–००३ ह ८७०५ नम्बरको सिटी रिक्सालाई पछ्याउँदै जाँदा चालक फरार भएको प्रहरीले जनाएको छ । उक्त सवारीसाधनको चेकजाँच गर्दा ४ बोरा गाँजा फेला परेको थियो । बरामद गाँजाको तौल १२३ किलो १५ ग्राम रहेको जनाइएको छ ।

उक्त सवारीमा सवार भारतको सुपौल जिल्ला, किसनपुर पंचायत–६, तिरगंजका २० वर्षीय मोहम्मद ईम्तियाज मियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । पक्राउ परेका मियासहित बरामद गाँजा र रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

फरार सिटी चालकको पहिचान र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनालाई सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागू औषध ओसारपसार नियन्त्रणका लागि ठूलो सफलता मानेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार