काठमाडौँ: पार्टीले १५ औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनु पर्नेमा जोड दिएका हुन् । थापाले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो समेत गरे ।
“संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”महामन्त्री थापाले भने । बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने थापाको भनाइ रहेको थियो ।
महामन्त्री थापालले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्नेमा समेत जोड दिए । महामन्त्री थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे । महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि र रीसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राख्दै थापाले फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया