‘जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै माग पूरा हुन्छ’ : प्रचण्ड

बुधबार, ०५ कार्तिक २०८२

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका मागहरू पूरा गर्न माओवादी र जेनजी युवाबिच सहकार्य अपरिहार्य भएको बताएका छन्।

उनले आगामी चुनावमा जेनजी र माओवादी मिलेर प्रत्यक्ष गठबन्धनका रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।

रामगोपालपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुन्छन्। अरू दलले ती माग बुझ्दैनन्।’

 उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र समावेशी लोकतन्त्रजस्ता मुद्दा माओवादीले विगतदेखि उठाउँदै आएको विषय हुन्।

प्रचण्डले जेनजीका मागहरूलाई राजनीतिक रूपमा संस्थागत गर्न माओवादीको समर्थन आवश्यक रहेको उल्लेख गर्दै थपे, ‘यी मुद्दा माओवादीका पनि हुन्, जेनजीले उठाएका पनि त्यही हुन्। त्यसैले अब लडाइँ साझै हो।’

उनले युवाहरूमाझ राजनीतिक चेतना र पहिचानको स्पष्टता आवश्यक रहेको बताउँदै भने, ‘मित्र र बैरी छुट्याउन सक्नुपर्छ। मित्रलाई बैरी र बैरीलाई मित्र ठान्ने हो भने देश फेरि भ्रमको चक्रमा फस्छ।’

कार्यक्रममा उनले जनयुद्ध र जनआन्दोलनका समयमा आफू पनि “त्यो समयको जेनजी” रहेको उल्लेख गर्दै अहिलेको पुस्तासँग सहानुभूति व्यक्त गरे।

कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो सङ्ख्यामा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए। पार्टीले दिएको जानकारीअनुसार प्रवेश गर्नेहरूमध्ये ६० प्रतिशत जेनजी युवाहरू रहेका छन्।

प्रचण्डले मधेशमा भएको यो कार्यक्रमलाई ऐतिहासिक बताउँदै भने, ‘यो मधेशमा नयाँ राजनीतिक समीकरणको सङ्केत हो। माओवादी र जेनजी युवाको सहकार्यले देशमा नयाँ राजनीतिक लहर ल्याउनेछ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार