ललितपुर : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच जनामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उच्च अदालत पाटनले थप पाँच दिनको म्याद दिएको छ।
आइतबार उच्च अदालत पाटनको वाणिज्य इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको हो।
अनुसन्धानको दायरामा सीईओ शेरचनसँगै डेपुटी सीईओ मणिराम पोखरेल, चिफ क्रेडिट अफिसर रिवाश श्रेष्ठ, व्यवसायी राजेन्द्र शाक्य र सुजिन शाक्य परेका छन्।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र प्रचलित कानुन विपरीत कार्य गरी बैंकलाई आर्थिक हानि पुर्याएको आरोपमा उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
सीईओ शेरचनलाई गत मङ्सिर १४ गते पक्राउ गरिएको थियो भने अन्य व्यक्तिहरू त्यसपछि पक्राउ परेका हुन्। यसअघि पनि पटक–पटक म्याद थप हुँदै आएको यस प्रकरणमा अदालतले गत मङ्सिर २९ गतेसमेत पाँच दिनको म्याद दिएको थियो।
यसपटकको म्याद थप आदेशसँगै अदालतले अनुसन्धान प्रक्रिया तीव्र बनाउन निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।
उच्च अदालत पाटनको प्रशासन शाखाका अनुसार, इजलासले अनुसन्धान कार्य शीघ्र सम्पन्न गर्न विशेष सरकारी वकिल कार्यालयलाई स्पष्ट निर्देशन दिएको छ।
प्रतिक्रिया