पाँचथर : देशभरका गाउँ–टोलमा द्यौसी भैलोको रौनकता छाएका बेला कोशी प्रदेशमा बसोबास गर्ने लिम्बू समुदायले यो पर्वलाई बलिहाङ तङ्नामका रूपमा मनाइरहेका छन्।
उनीहरूले देउसी भैलो खेल्दा एकजनाले भट्ट्याउने र समूहका सदस्यहरूले देउसी–भैलोको साटो नाम्लिङ्गेक, लारिङ्गेक भन्दै द्यौसी खेल्ने गर्छन्।
लिम्बू समुदायले ‘बलिहाङ तङ्नाम’ मनाउने क्रममा द्यौसी भैलो खेल्दा च्याब्रुङ सहितका मौलिक बाजा बजाउँदै समूहमै नाच्ने चलन छ। यो चलनलाई यसवर्षको दीपावलीमा पनि निरन्तरता दिइएको चुम्लुङका जिल्ला उपाध्यक्ष सुभाष तुम्वापोले बताए।
नाम्लिङ्गेक–लारिङ्गेक खेल्न टोलभरिका महिला–पुरुष एउटै समूहमा भेला भएर गाउँघरमा घुम्ने चलन छ। बलिहाङ तङ्नाम मनाउन समुदायमा निस्केका द्यौसीमध्ये एकजना टोली नेताले लिम्बू भाषामै भट्याउँछन् भने आशिष पनि लिम्बू भाषाबाटै दिन्छन्। त्यो बेला समूहका सदस्यहरू मौलिक पोशाकमा आँगन ढाकेर द्यौसी खेल्दा दृश्य निकै रमाइलो र आकर्षक हुन्छ।
राजा बलिहाङको प्रसिद्धि गाउँ–गाउँ घर चारचौरास घुमेर उनीहरूले रमाइलो गर्छन्। यसरी समूहमा द्यौसी खेल्नेलाई दान–दक्षिणाको रूपमा नाङलोभरी चामल, पैसा, सेलरोटी, र सगुनका रूपमा जाड रक्सी टक्राइन्छ।
इतिहासका जानकारहरूका अनुसार बलिहाङ नेपालको पश्चिम क्षेत्रका नामी, ज्ञानी, प्रतापी र प्रजाभक्त राजा थिए। उनको शासन शैली प्रजावत्सल भएकाले प्रजाहरूले उनलाई देवताजस्तै मान्थे।
शासनकालमै बलिहाङका प्रतिद्वन्द्वी (सुङखिवा–तुखिवा)हरूले ईर्ष्या जागेर छिट्टै मरुन् भनेर शाप दिए। बलिहाङ बिरामी परे। त्यतिबेला उनले आफ्नालागि कात्तिक महिना कालो बन्न सक्ने उद्घोष गरे।
त्यो थाहा पाएपछि प्रजाहरूलाई खपी नपुगेको पीडा भयो। उनीहरूले आफ्ना इष्टदेव तागेरा निङवाफु (सृष्टिकर्ता)सँग बलिहाङको आयु बढाइदिन वरदान मागे।
चार हात भएका देवता प्रसन्न भएर त्यो कालो दिन र रातलाई हटाउन दीपावली गर्न सके काल टर्ने उपाय सुनाए। सबै जना जाग्राम बस्न, घरघरै दीपावली गर्ने र कालो कागलाई खाना खुवाउने परम्परा गरे।
नभन्दै बलिहाङलाई कालले लैजान सकेन। त्यही खुशीमा बलिहाङ तङ्नाम मनाउन थालिएको हो भन्ने जनश्रुति स्थापित छ, किरा इतिहासका जानकार याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगूले बताए।
देउसी–भैलोको रूपमा नाम्लिङ्गेक–लारिङ्गेक खेल्ने लिम्बू समुदायमा भाइटिका लगाउनु अनिवार्य नरहेको जवेगू सुनाउँछन्। लिम्बू संस्कृतिमा चेलीले माइती र माइतीले चेलीलाई फूल दिन हुँदैन भन्ने विश्वास छ। यद्यपि पछिल्लो समय केही लिम्बूहरूले भाइटिका पनि लगाउन थालेका छन्।
लिम्बू समुदायले यो पर्व याक्थुङ (लिम्बू) पात्रोअनुसार बलिहाङ तङ्नाम मनाउने गरेका छन्। मुन्धुममा वर्णित कथनअनुसार बलिहाङ प्राचीनकामा तत्कालीन लिम्बुवान क्षेत्रका राजा थिए, जो प्रतापी, ज्ञानी, शक्तिशाली, लोकप्रिय र त्रिकालदर्शी पनि थिए।
वलिहाङ तङ्नाम कृतिका लेखक तथा लिम्बू भाषा–संस्कृतिका अध्येता हरिचन्द्र लावतीका अनुसार बलिहाङ तङ्नाम चार दिनसम्म मनाइन्छ।
हिन्दू धर्मशास्त्रअनुसार मनाइने तिहारमा चेली–बेटीले माइतीलाई टीकासँगै फूलको माला पनि लगाइदिने चलन छ। यद्यपि किरात मुन्धुम अनुसार फूललाई जीवनको प्रतीक मानिन्छ। त्यसैले लिम्बू जातिमा कुनै पनि तङ्नाममा चेली र माइतीबिच फूल आदान–प्रदान गर्न नमिल्ने उनी सुनाउँछन्।
लिम्बूहरूले औँसीका दिन दियो बालेर मन्दिरमा पृथ्वी, सूर्यलगायत ब्रह्माण्डका सबै ग्रहहरूको शान्ति पूजा गर्छन्। झट्ट हेर्दा तिहारसँग मेला खाएजस्तो देखिए पनि यो पर्वको छुट्टै ऐतिहासिक पृष्ठभूमि छ।
मगर, राई र तामाङहरूले पनि तिहारलाई मौलिकता जोगाउने पर्वका रूपमा मनाउने गरेका छन्। मगरहरूले मौलिक पोशाक र भेषभूषामा सजिएर हुर्रा नाच्छन् भने राईहरू साकेला र तामाङहरू डम्फु बजाएर तामाङसेलो नाच्दै द्यौसी–भैलो खेल्छन्।
पश्चिमी संस्कृतिको प्रभावका कारण नेपालको मौलिक संस्कृति अतिक्रमणमा परिरहेका बेला यो पर्वलाई संस्कृति जगेर्नाको अवसरका रूपमा मनाउन थालिएको छ, मगर सङ्घ पाँचथरका सचिव प्रेम केप्छाकी मगरले बताए।
प्रतिक्रिया